| |

व्यावसायिक कफी खेती गर्दै किसान

अरुलाई पनि शेयर गरौ !

टीका यक्सो लिम्बू
ताप्लेजुङ, जेठ २९ ।
ताप्लेजुङको पश्चिमी आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकाका किसानले व्यावसायिक रूपमा कफी खेती सुरु गरेका छन् । पछिल्लो समय कफीको बजार माग बढ्दै गएसँगै यसबाट राम्रो आम्दानीको सम्भावना देखेपछि किसानले व्यावसायिक रुपमै खेती सुरु गरेका हुन् ।
हाल आठराई त्रिबेणी गाउँपालिका वडा नं. ३ हाङ्पाङ र वडा नं. ५ चाँगे तथा मैवाखोला गाउँपालिका वडा नं. १ ढुङ्गेसाँघुका किसानले व्यावसायिक रूपमा कफी खेती सुरु गरेका छन् । सुरुमा परीक्षण गर्दा नै कफी राम्ररी फस्टाएको र कफीका लागि उपयुक्त हावापानी र जमिन रहेको पाइएपछि स्थानीय किसानले व्यावसायिक खेती सुरु गरेको बताइएको छ । किसानका अनुसार अहिले धमाधम कफी खेती बिस्तार हुन थालेको छ ।
मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका किसान चन्द्र तामाङले हाल व्यावसायिक कफी खेती सुरु गर्नुभएको छ । आजभन्दा चार वर्ष अघिदेखि कफीको बिरुवा रोप्न सुरु गरेर अहिलेसम्म करिव ४० रोपनी क्षेत्रफलमा खेती बिस्तार गरेको तामाङले बताउनुभयो । उक्त क्षेत्रफलमा एकहजार ५०० बिरुवा रोपेको र सुरु–सुरुमा रोपेको बोटमा फल लाग्न थालेको उहाँले बताउनुभयो । उहाँले यसवर्ष चारहजार किलोग्राम सम्म कफी उत्पादन हुने बताउनुभयो ।
मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकै अर्का किसान ध्रुव वनेमले कफीको व्यावसायिक खेती सुरु गर्नुभएको छ । वनेमले १५० रोपनीभन्दा बढी क्षेत्रफलमा करिव दुई हजार ५०० बिरुवा लगाउनुभएको छ । उहाँको खेतीबाट पनि उत्पादन हुन थालेको र दुई हजार ५०० किलोग्रामसम्म उत्पादन हुने अनुमान लगाएको उहाँको भनाइ छ । तामाङ र वनेमसहित ढुङ्गेसाँघुका छ जना किसानले व्यावसायिक कफी खेती सुरु गरेका छन् ।
यस्तै आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङका किसान लक्ष्मीप्रसाद पोख्रेलले पनि आफूले लगाएको कफी खेतीबाट उत्पादन हुन थालेको जानकारी दिनुभयो । आठराई त्रिबेणी गाउँपालिका–५ चाँगेका स्थानीय किसान घनु गौतमले पनि व्यावसायिक कफी खेती लगाउनुभएको छ । यसरी हाङ्पाङ र चाँगेमा दर्जनौ किसानले व्यावसायिक रुपमा कफी खेती सुरु गरेका बताइएको छ ।
यता कफी खेतीबाट आम्दानी पनि हुन थालेको किसानले बताएका छन् । उत्पादित कफी अहिले प्रतिकिलोग्राम ८० रुपियाँले बिक्री गर्दै आएको किसानको भनाइ छ । प्रशोधन गरेको कफी भने ७०० रुपियाँ प्रतिकिलोग्रामका दर बिक्री हुने हुँदा किसान आफैँले गाउँमै कफी प्रशोधन गर्ने व्यवस्थाका लागि जुट्दै आएको पनि बताएका छन् । हाल व्यावसायिक खेती सुरु भएको क्षेत्र ढुङ्गेसाँघु, चाँगे र हाङ्पाङबाट करिव १० हजार किलोग्रामसम्म कफी उत्पादन हुन थालेको स्थानीय चन्द्र तामाङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts