|

विश्वकप छनोट खेलः आज नेपाल र चाइनिज ताइपेई भिड्दै

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, जेठ २० । विश्वकप छनोट अन्तर्गत समूह ‘बी’ को खेलमा बिहीबार आज नेपाल र चाइनिज ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ । कवेतको जाबेद अल–अहमेद इन्टरनेसनल स्टेडियममा खेल बेलुकी पौने १० अर्थात ९ः४५ बजे सुरु हुनेछ ।
जारी विश्वकप तथा एसियाकप छनोटमा नेपाले एकमात्र खेल जितेको छ । २१ महिना अघि चाइनिज ताइपेइलाई उसकै मैदानमा २–० ले हराएको नेपालले त्यसबाहेकका सबै ४ खेलमा पराजय भोगेको छ । फिफा वरियतामा आफूमाथि रहेको टोलीलाई त्यतिबेला पराजित गरेको टोलीले यसपटक बिहीबार हुने खेलमा कस्तो प्रदर्शन गर्ला नेपाली समर्थकलाई चासो हुनु स्वभाविक हो । चाइनिज ताइपेइविरुद्ध दुवै गोल अञ्जान विष्टले गरेका थिए ।
नवनियुक्त प्रशिक्षक अब्दुल्ला अलमुताइरीले प्रशिक्षण सम्हालेपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा निस्केको नेपाली फुटबल टोलीले यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो । अहिलेको टोलीमा व्यापक परिर्वतन भइसकेको छ । विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्ध जित दिलाएको टोलीको पहिलो रोजाइका ११ खेलाडीमध्ये अहिले ५ जना मात्र टोलीमा छन् । जसमध्ये देवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ, रवि पासवान र विमल घर्तीमगर छैनन् । रविबाहेक सबै खेलाडी चोटका कारण मैदान बाहिर छन् ।
नेपाल र चाइनिज ताइपेइ विश्वकप क्वालिफायर्सको समूह ‘बी’ मा चौंथो र पाँचौँ स्थानमा छन् । समूहमा नेपालले ५ खेलबाट ३ अंक जोडेको छ । यसअघि सबै ‘अवे’ खेल खेलिसकेको नेपालले ‘होम’ गेमका खेलमात्र खेल्न बाँकी छ । होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ ।
नेपाल रहेको समूहका अष्ट्रेलया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन् । कोभिड–१९ का कारण एफसीले होम गेम न्युट्रल भेन्युमा खेलाउन भनेपछि नेपाल कुवेत पुगेको हो । समूह ‘बी’ मा ४ खेलबाट १२ अंक जोडेको अष्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । त्यस्तै, जोर्डन तेस्रो, नेपाल चौथो र चाइनिज ताइपेइ पाँचौँ स्थानमा छ । यस्तै नेपालले जुन ७ मा जोर्डनको सामना गर्ने छ । दोस्रो चरणको अन्तिम खेलमा नेपालले जुन ११ मा अष्ट्रेलियाविरुद्ध स्पर्धा गर्ने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts