| |

सुकेटारमा राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला दहन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २० ।
ताप्लेजुङस्थित सुकेटार विमास्थलको नाम परिवर्तन गर्ने सरकरको निर्णयको विरोधमा योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) र अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला दहन गरेका छन् । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणसँगै सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी नामाकरण गर्ने सरकारले निर्णय गरेकोमा विरोध जनाउँदै वाईसीएल र अखिल क्रान्तिकारीले बुधबार सुकेटार विमानस्थलमै उनीहरुको पुत्ला दहन गरेका हुन् ।
सुकेटार विमानस्थलमै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पुत्ला दहन गरिएको वाईसीएलका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने विषय सार्वजनिक भए लगत्तै वाईसीएलसहित विपक्षी गठबन्धनका युवा संगठन र अखिल क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै विरोध साथै आपत्ति जनाएका थिए ।

ताप्लेजुङको पहिचान, ऐतिहासिता र जिल्लाकै एक पर्यटकीय गन्तव्यको रुपमा स्थापित सुकेटारको नाम परिवर्तन गरेर रवीन्द्र अधिकारी विमानस्थल नामकरण गर्ने निर्णय सच्याउन पनि वाईसीएल र अखिल क्रान्तिकारीले माग गरेका छन् । काम चलाउ सरकारको निर्णय आम ताप्लेजुङबासी जनताको मर्म र भावना विपरीत भएकाले यस गलत निर्णयलाई तत्काल खारेज गर्न वाईसीएल केन्द्रीय सचिव तथा प्रदेश १ इन्चार्ज मिङ्मा डण्डु शेर्पाले सरकारसँग माग गर्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts