|

सुकेटार विमानस्थलको नाम परिवर्तन गरिएकोमा चौतर्फी विरोध

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १८ ।
सरकारले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने निर्णय गरेकोमा चौतर्फी विरोध भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणसँगै सरकारले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गरेकोमा सुरुदेखि नै विभिन्न क्षेत्रबाट घोर आपत्ति र विरोध हुँदै आएको हो ।
मंगलबार मात्रै राजनीतिक दलसम्वद्ध भातृ संस्था, सामाजिक संस्था र फुङ्लिङ नगरपालिकाका विभिन्न वडाहरुले विज्ञप्ति प्रकाशित गर्दै विमानस्थलको नाम परिवर्तन गरिएकोप्रति विरोध जनाएका छन् । जिल्लाबासीको मर्म र भावना विपरीत सरकारले सुकेटार विमानस्थललाई रवीन्द्रअधिकारी विमानस्थल नामाकरण गरेकोमा आपत्ति साथै विरोध जनाएका हुन् ।
मंगलबार नेपाल उत्पीडित जातीय मुक्ति समाज ताप्लेजुङ, नेपाल दलित संघ जिल्ला कार्यसमिति, नेपाल दलित मुक्ति मोर्चा र समाजवादी दलित मुक्ति महासंघ ताप्लेजुङले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । यस्तै किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले पनि विज्ञप्ति जारी गर्दै नाम परिवर्तनको विरोध गरेको छ । कियाचु जिल्ला सचिव इन्दिरा मेन्याङ्बोद्वारा हस्ताक्षरित विज्ञप्तिमा विमानस्थलको नाम परिवर्तन गर्ने निर्णय सच्याउन माग गरिएको छ भने मागको बेवास्ता गरिए सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ ।
यसैगरी फुङ्लिङ नगरपालिका वडा नं. ३ का वडाध्यक्ष युवराज बराल, वडा नं. ६ का वडाध्यक्ष बलबहादुर गुरुङ, वडा नं. ७ का वडाध्यक्ष राजनकुमार गुरुङ, वडा नं. ८ का वडाध्यक्ष पदमसुन्दर पालुङ्वा र वडा नं. ९ का वडाध्यक्ष तारानाथ बरालले पनि संयुक्त विज्ञप्ति जारी गर्दै विकासको नाममा आफ्नो इतिहास, मौलिकता, संस्कृति, पहिचान र अस्तित्व मेटाउने खालको हस्तक्षेप भएकोभन्दै नाम परिवर्तन गर्ने विषय स्वीकार्न नसकिने जनाउनुभएको छ । पौराणिक इतिहास बोकेको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गर्ने निर्णय तत्काल सच्याउन पनि पनि विज्ञप्तिमार्फत वडाध्यक्षहरुले माग गरेका छन् ।
यसअघि जिल्लास्थित सात राजनीतिक दल, दल निकट युवा संगठनहरु, विद्यार्थी संगठन लगायतले विरोध जनाउँदै विज्ञप्ति प्रकाशित गरेका छन् भने राजनीतिक दल तथा फुङ्लिङ नगरपालिकाले सरकारलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेका छन् । जिल्लाबासी आम नागरिकले समेत विभिन्न आफ्नो सामाजिक सञ्जालहरुमार्फत विरोध जनाउँदै आएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts