|

सुकेटार विमानस्थलको नाम परिवर्तन गरिएकोप्रति युवाहरुको पनि आपत्ति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १७ ।
सरकारले सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने निर्णय गरेकोमा ताप्लेजुङका युवा संगठनहरुले पनि आपत्ति जनाएका छन् । जिल्लाबासीको मर्म र भावना विपरीत सरकारद्वारा शनिबार प्रस्तुत बजेट वक्तब्यमार्फत सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गरेकोमा सोमबार युवा संगठनहरुले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आपत्ति जनाएका हुन् ।
तरुण दल नेपालका जिल्ला अध्यक्ष खगेनसिंह हाङ्गाम, वाइसीएल नेपालका जिल्ला अध्यक्ष सुजन सामेखाम, युवा संघ नेपालका केन्द्रीय सदस्य ज्ञानु लावती, समाजवादी युवासंघका जिल्ला अध्यक्ष सुरेश आवाजुङ, लिम्बुवान भोलेन्टियर्स (एलभी) का जिल्ला संयोजक गणेश माबो र राष्ट्रिय युवा मोर्चाका जिल्ला अध्यक्ष आइत माबोद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुकेटार विमानस्थल नाम परिवर्तन गर्नु स्थानीयबासीको इतिहास, पहिचान र भौगोकि संस्कृति माथिको आक्रमण भएको उल्लेख गरिएको छ ।
युवा संगठनहरुले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गर्नु जनविरोधी कार्य भएको र विकासको नाउमा स्थानीय जनताको मौलिकतामाथि गरिएको हस्तक्षेप अस्वीकार्य हुनेभन्दै निर्णय तत्काल सच्याउन माग गरेका छन् । सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने विषयमा नसच्याए सशक्त प्रतिरोधमा उत्रनुको विकल्प नहुने पनि विज्ञप्तिमार्फत युवाहरुले चेतावनी दिएका छन् । युवाहरुको ध्यानाकर्षणबारे बेवास्ता गरिए जुनसुकै मूल्य चुकाउनमा पनि पछि नपर्ने छवटा युवा संगठनबीच निर्णय भएको पनि वाइसीएलका जिल्ला नेता कैलास माबोले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts