सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने निर्णय सच्याउन माग गर्दै सात दलले बुझाए सरकारलाई ज्ञापनपत्र

–उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १७ । ताप्लेजुङस्थित सात राजनीतिक दलले सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सरकारले गरेको निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गर्नेगरी भएको निर्णय सच्याउन माग गर्दै सात राजनीतिक दलले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तब्यमार्फत सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गरिएको छ । सुकेटार विमानस्थल इतिहासदेखि स्थापित नाम भएको र ताप्लेजुङबासीको गौरवकै रुपमा रहेको पर्यटकीय स्थलभन्दै नाम परिवर्तन गर्ने सरकारको निर्णय तत्काल सच्याउन माग गर्दै राजनीतिक दलले प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउनेमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, सङ्घीय लिम्बुवान मञ्च नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् । आइतबार नै जिल्लास्थित सात राजनीति दलले सर्वदलीय बैठक बसी सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेका थिए ।
सात राजनीतिक दलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गर्ने सरकारको निर्णय तत्काल नसच्याए जिल्लाबासीले सशक्त प्रतिरोध गर्ने पनि ज्ञापनपत्रमार्फत चेतावनी दिएका छन् । ज्ञापनपत्र एमालेका जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ, माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजयप्रकाश वनेम लगायत सात दलका जिल्ला नेतृत्व तथा प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् । यतिबेला सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सरकारी निर्णय सार्वजनिक हुने बित्तिकै राजनीतिक दलसम्बद्ध युवा, विद्यार्थी संगठनहरु, अन्य सामाजिक संस्थाहरु र जिल्लाबासी नागरिक समेतबाट चौतर्फी विरोध हुँदै आएको छ ।
