| |

ताप्लेजुङका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, जेठ १५ ।
ताप्लेजुङमा कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले एक संस्थाले प्रत्येक स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । हाल कोरोना सङ्क्रमण गाउँ–गाउँसम्म फैलिरहेको अवस्थामा हिमालयन डेभलपमेन्ट फाउन्डेसन अष्ट्रेलिया नामक सामाजिक संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
कोभिड–१९ को सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् साथै सङ्क्रमितको उपचार व्यवस्थामा राहत मिलोस् भन्ने उद्देश्यसहित संस्थाले स्वास्थ्य सामग्री सहयोग गर्ने योजना बनाएको संस्थाका प्रतिनिधि मिङ्माडण्डु शेर्पाले बताउनुभयो । संस्थासँग समन्वय गरेर औषधि सहितका स्वास्थ्य सामग्री जिल्लाका सबै स्थानीय तह र दुर्गम हिमाली गाउँ ओलाङ्चुङगोला र घुन्साका लागि सहयोग गरेको शेर्पाले बताउनुभयो ।

शनिबार फुङ्लिङ नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै ।

शेर्पाका अनुसार हिमालयन डेभलपमेन्ट फाउन्डेसन अष्ट्रेलियाले करिव छ लाख रुपियाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्रीमा दुई सय २५ लिटर सेनिटाइजर, ह्याण्ड सेनिटाइजर पाँचसय थान, सर्जिकल मास्क १० हजार थान, एन–९५ मास्क पाँचसय थान रहेको छ । यस्तै अक्सोमिटर, थर्मलगन र पीपीई सेट ४५–४५ थान, टप ग्लोब्स (पञ्जा) ५० बट्टा, फेस शिल्ड दुईसय थान र भिटामिन–‘सी’, भिटामिन–‘डी’, जिङ्क, एन्टिबायोटिक ट्याब्लेट सहितका औषधि रहेको शेर्पाले बताउनुभयो ।
भिटामिन र औषधिहरु दुर्गम हिमाली बस्ती ओलाङ्चुङगोला र घुन्सालाई प्राथमिकता दिई सो क्षेत्रतर्फ शुक्रबार नै पठाएको शेर्पाले जानकारी दिनुभयो । केही दिनअघि घुन्साका अधिकांश परिवारमा रुघाखोकी, ज्वरो आउनेजस्ता समस्या देखा परेपछि भिटामिन र औषधि त्यस क्षेत्र पठाइएको उहाँको भनाइ छ । बाँकी स्वास्थ्य सामग्रीहरु जिल्लाका नौ वटै स्थानीय तहलाई समान रुपमा उपलब्ध गराउने तयारी गरिएको र शनिबार फुङ्लिङ नगरपालिकालाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts