| |

ताप्लेजुङमा अधिकांस सङ्क्रमित होम आइसोलेसनमै

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, जेठ १० ।
ताप्लेजुङका अधिकांस कोरोना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् । जिल्ला अस्पतालसहित विभिन्न स्थानीय तहले अस्थायी आइसोलेसनको व्यवस्था गरेको भए पनि सङ्क्रमितहरु होम आइसोलेसनमा बसेका हुन् । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार सोमबारसम्म सङ्क्रमितमध्ये १० जना जिल्ला अस्पतालमा र केही जिल्ला बाहिरका अस्पतालमा उपचाररत छन् भने बाँकी सबै होम आइसोलेसनमा बसेका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार विभिन्न स्थानीय तहले स्थापना गरेका अस्थायी आइसोलेसनसहित जिल्लामा ८० शय्या (बेड) को आइसोलेसन रहेको छ । जिल्ला अस्पतालमा रहेको आइसोलेसनमा मात्र हाल सङ्क्रमितहरु उपचाररत रहेका सहायक प्रजिअ अधिकारी खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकामस्थित तमोर अस्पताल प्रालिमा पाँच शय्या, फुङ्लिङ नगरपालिकामा २५ शय्या, मेरिङ्देन गाउँपालिकामा पाँच शय्या, मैवाखोला गाउँपालिकामा १५ शय्या, फक्ताङ्लुङ गाउँपालिकामा १५ शय्या र आठराई त्रिबेणी गाउँपालिकामा रहेको पाँच शय्याको आइसोलेसन खाली रहेको छ ।

जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचाररत संक्रमित । तस्बिर : प्रयास ।


जिल्लाको सिरिजङ्घा र पाथीभरा याङ्वरक गाउँपालिकाले पाँच–पाँच शय्याको क्वारेन्टाइन स्थापना गरेका पनि प्रशासन कार्यालयले जनाएको छ । हाल जिल्लाका सबै स्थानीय तहमा सङ्क्रमित रहेपनि उनीहरु घरमै सुरक्षित (होम आइसोलेसन) मा बसेका छन् । स्वास्थ्य कार्यालयका तथ्याङ्क फाँटका कर्मचारी हेमराज कठायतका अनुसार सोमबारसम्म जिल्लामा चार सय ३७ जना सक्रिय सङ्क्रमित रहेका र उक्त सङ्ख्यामध्ये चार सय २० जना बढी होम आइसोलेसनमा बसेका छन् ।
स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा सङ्क्रमित रहेका छन् । त्यसपछि मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिरिजङ्घा र आठराई त्रिबेणी गाउँपालिकामा रहेका छन् । पाथीभरा याङ्वरक गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकामा हाल सक्रिय सङ्क्रमित छन् । पीसीआर विधि र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमार्फत सङ्क्रमण पुष्टि भएका सङ्क्रमितहरु रहेका छन् ।
हालसम्म ८३ जना भने सङ्क्रमणमुक्त भएका पनि कठायतले जानकारी दिनुभयो । सङ्क्रमणकै कारण जिल्लामा आठ जनाको मृत्यु भएको र अन्य तीन जनाको शंकास्पद मृत्यु भएको तथ्याङ्क पनि स्वास्थ्य कार्यालयले राखेको जनाइएको छ । केही दिन अघि पीसीआर परीक्षणका लागि पठाएको १०३ जनाको रिपोर्ट आउन बाँकी रहेको भने सोमबार फेरि १५९ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यता प्रायः संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts