| |

ताप्लेजुङ अस्पतालको स्टाटसले संक्रमितको पीडामा पीडा थपिदियो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ७ ।
ताप्लेजुङ यतिबेला कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले निक्कै आक्रान्त छ । नयाँ भेरियन्ट सहितको कोरोनाबाट जिल्लाका धेरै नागरिक सङ्क्रमित बनेका छन् भने सङ्क्रमणपछिको पीडामा उनीहरु कोरोनासँग संघर्षरत छन् ।
सुरुमा कोरोना सङ्क्रमित भएकाहरु क्रमशः सङ्क्रमणमुक्त हुने क्रम पनि छ । यद्यपि, करिव चार सयको हाराहारीमा अहिले पनि सक्रिय सङ्क्रमित छन् । सङ्क्रमितमध्ये धेरै होम आइसोलेसनमा छन् भने केही जिल्ला अस्पतालको आइसोलेसन कक्षमा र केही जिल्ला बाहिरका अस्पतालमा उपचाररत छन् । यसरी कोरोना सङ्क्रमण भएपछि सङ्क्रमितले भोगिरहेको पीडा र उनीहरुको परिवारमा समेत परेको पीडामाथि पीडा थप्नेगरी जिल्ला अस्पताल ताप्लेजुङले स्टाटस लेखेको छ ।

जिल्ला अस्पतालको आधिकारिक फेसबुक पेजमार्फत बिहीबार सार्वजनिक भएको स्टाटसले पीडितलाई थप पीडा थपिदिएको हो । ‘ताप्लेजुङेलाई लागिरा होला हामीलाई भाइरसले ठग्यो, १४ दिन, १७ दिन आइसोलेसनमा बस्दा पनि पिसिआर पोजिटिभ आयो । गर्यौ हैन त फलो अप पिसिआर ?? बनायो हैन त पंगु ।। हामीले भन्या सुन्यौं त ?? अब बस अझै १४ दिन आइसोलेसनमा ।। आखिर सब एक से एक विज्ञ हौँ के रे ।’ लेखिएको स्टाटसले पीडा थपेको हो ।
जिल्लालाई कोरोनामुक्त बनाउन र सङ्क्रमितको उपचारमा सहजता ल्याउनका निम्ति जनप्रतिनिधि, सामाजिक संघसंस्थाहरु र अन्य मनकारीहरु स्वास्थ्य सामग्री जुटाउन लगायतका पहल प्रयत्न गरिरहेका बेला अस्पतालको गैर जिम्मेवारपूर्ण स्टाटसले भने सबैलाई गम्भीर बनाएको छ । सङ्क्रमित लगायतका विरामीको उपचारमा संलग्न चिकित्सकलाई भगवन नै ठान्दै आएका नागरिकलाई दुःखीसमेत बनाएको छ ।
जिल्ला अस्पतालद्वारा गल्ती स्वीकार गर्दै क्षमायाचना

यसैबीच जिल्ला अस्पतालको उक्त गैरजिम्मेवारपूर्ण स्टाटसप्रति तीब्र आलोजना भएपछि गल्ती स्वीकार गर्दै क्षमायाचना गरिएको छ । जिल्लाबासीको जनभावनामा ठेस पुग्नेगरी भूलबस स्टाटस पोष्ट भएकोभन्दै जिल्ला अस्पतालले क्षमा याचना गरेको हो । बिहीबारको स्टाटसप्रति जिल्ला र जिल्ला बाहिर रहेको सचेत नागरिक, राजनीतिक नेतृत्व, बौद्धिकसहितका नागरिकले अस्पतालको गैर जिम्मेवार अभिव्यक्ति भएकोभन्दै चौतर्फी आलोचना भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts