|

मन्त्री पदबाट खुस्केकै दिन बादलले राष्ट्रियसभा चुनाव हारे, देवकोटा निर्वाचित

अरुलाई पनि शेयर गरौ !

काठमाडौ, जेठ ६ । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा। खिमलाल देवकोटा विजयी भएका छन् । देवकोटाले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो । वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।
त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।
यता बिहीबार मात्रै गृहमन्त्री रहेका बादलसहित ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणिचन्द्र थापा र खेलकुद मन्त्री दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि काम कारबाही नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो । पद जाने मन्त्रीहरुमा नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमाले प्रवेश गर्नेहरु रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts