| |

पीसीआर रिपोर्ट आउन ढिलाइले जिल्लाबासीमा त्रास बढ्दै

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, जेठ ५ ।
ताप्लेजुङमा पीसीआर परीक्षण रिपोर्ट आउनमा ढिलाई हुँदा जिल्लाबासीमा त्रास बढ्दै गएको छ । कोरोना सङ्क्रमणको आशंकामा स्वाब (नमुना) सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाएकाहरुको रिपोर्ट आउन ढिलाई हुँदा जिल्लाबासीमा थप त्रास बढ्दै गएको हो ।
जिल्लाबाट शंकास्पद लक्षण देखिएका र कोरोना सङ्क्रमितसँग नजिक रहेकाहरुको स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्न मोरङको विराटनगर र झापा पठाउने गरिएको छ । स्बाव पठाएको हप्ता दिन सम्ममा पनि परीक्षण रिपोर्ट नआउँदा जिल्लाबासीमा त्रास बढेको हो । समयमा रिपोर्ट नआउँदा कोरोना सङ्क्रमितको उपचार व्यवस्थामा समस्या हुनेभन्दै सर्वसाधारण चिन्तित बनेका छन् भने उनीहरुमा त्रास बढ्दै गएको पाइएको छ ।
सङ्क्रमणको सम्भावनामा स्वाब दिएका कतिपयले हाल स्वास्थ्यमा कुनै समस्या वा लक्षण नदेखिए पनि पीसीआर परीक्षण रिपोर्टको पर्खाइमा बस्नुपर्दा पीडा भएको बताउँछन् । आफूहरुले दिएको स्वाबको रिपोर्टको पर्खाइले दैनिकी र जीवनशैलीमा प्रभाव परिरहेको उनीहरुको भनाइ छ । गत साताको बिहीबार फुङ्लिङ नगरपालिकाको सुकेटार क्षेत्रबाट स्वाब सङ्कलन गरी पठाएको पीसीआर परीक्षण रिपोर्ट अझै आएको छैन ।
उक्त दिन २०६ जनाको स्वाब पठाएकोमा सोमबार १०६ जनाको रिपोर्ट आएको र बाँकी १०० जनाको रिपोर्ट अझै आएको छैन । स्वाब पठाएको पाँच दिनपछि १०६ जनाको रिपोर्ट आउँदा फ्लोअप तीनसहित ४३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी रहेकाको अहिलेसम्म रिपोर्ट नआउँदा स्वाब दिनेलाई समेत थप चिन्ता हुन थालेको बताइएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवा बुङ्कुलुङका पासाङरिता शेर्पाले स्वाब दिएको रिपोर्टको पर्खाइमा बसेको बताउनुभयो ।
यता विभिन्न जिल्लाबाट स्वाबको चाप लागेकाले परीक्षणमा ढिलाइ हुने गरेको आफूलाई जानकारी भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । गत बिहीबार सुकेटार क्षेत्रमा स्वाब सङ्कलन गरी पठाएको बाँकी रिपोर्ट आज आउनसक्ने प्रजिअ पाण्डेले बताउनुभयो । सुकेटार क्षेत्रको बाँकी रहेकोबाहेक पछाडि पनि फुङ्लिङ नगरपालिकाबाट १५४ जना र सिरिजङघा गाउँपालिकाबाट ४९ गरी २०३ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाइएको स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts