पार्टी भित्रको समस्या के हो ?
–खेलप्रसाद बुढाक्षेत्री ‘पराग’
माओको संश्लेषण छ (बिचार सहि हुनु र नहुनुले सबै कुराको फैसला गर्छ। यदि बिचार सहि छ भने नभएका सबै कुराहरू प्राप्त हुन्छन् । यदि बिचार गलत छ भने भएका कुराहरू पनि गुम्छन् ।
शान्ति प्रक्रियाका करिब १५ वर्ष हेर्दा माओवादी पार्टीहरु वा धाराहरुले लिएको बिचार समग्र बिचार भएको देखिएन। जनयुद्धको राप तापले केहि उपलब्धिहरु त संबिधानमा दस्तावेजिकरण गरिएका छन् । तर अगाडि बढेर समाजवादको यात्रा गर्ने भन्दा पनि आज प्राप्त उपलब्धिहरु (गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेसी समानुपातिक) गुम्ने खतरा छ।
त्यसैले आज वस्तुगत धरातलमा उभिएर बिचार संश्लेषण गर्नु जरुरी देखियो । गुम्ने वा प्राप्त हुने भन्ने कुराको मुख्य कसी नै बिचार भएको हुंदा बिचारलाई मुख्य ठानेर अन्तर्विरोधको हल खोज्नु पर्छ। हिजो सामन्तवाद र साम्राज्यवादका बैचारिक भाइरसरुले कम्युनिस्ट आन्दोलन तथा उत्पीडित वर्ग समुदायको मुक्ति आन्दोलनलाई भित्र-भित्रै तहसनहस पार्न भूमिका खेल्दथे भने आज साम्राज्यवादका भाइरसहरु रुप फेरेर सर्वहारा श्रमजीवी तथा उत्पीडित समुदायको मुक्ति आन्दोलनलाई रोक्न र राष्ट्रको थप स्वतन्त्रता लुटेर पूर्ण औपनिवेशिकरण गर्न मरिमेटेर लागेका छन् ।
साम्राज्यवादका राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हस्तक्षेप तथा उत्पीडनबाट नेपालीहरुले स्वतन्त्रता पाउनुपर्छ कि पर्दैन ? यो पहिलो प्रश्न हो । त्यसपछि नेपाली मौलिकताको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृति र सभ्यताको विकास गर्ने कुराको अधिकार हामी नेपालीसँग हुनुपर्छ कि पर्दैन ? यो दोश्रो प्रश्न हो ।
आज कम्युनिस्ट पार्टीको रातो झण्डाभित्र साम्राज्यवादी भाइरसहरु प्रशस्तै भेटिन्छन । कोरोना भाइरसले सिंगो मानव समुदायलाई नकारात्मक रुपमा प्रभावित पारे जस्तै साम्राज्यवादी भाइरसहरुले कम्युनिस्ट पार्टी र नेपाली समाजलाई प्रभावित पारिरहेका छन् । शोषण गर्नु, लुटपाट मच्चाउनु, मानव समुदायलाई आतंकित पारेर मुट्ठीभर देश तथा ब्यक्तिको हातमा सम्पत्ति केन्द्रीकरण गर्न पाउनु साम्राज्यवादको आदर्श हो । साम्राज्यवादी विश्व दृष्टिकोणमा शोषण गर्नु न्याय संगत हुन्छ। मार्क्सवादी दृष्टिकोणमा यसको ठीक बिपरित हुन्छ।
साम्राज्यवादले आज नेपालमा शोषण उत्पीडन गर्दै आएको छ। कहिँ कुनै बेला सिधै आएको छ भने कतै उसका Agents मार्फत घुमाउरो तरिकाले आएको छ। जताबाट जसरी आए पनि साम्राज्यवादको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा हस्तक्षेप र शोषण तीब्र बन्दै गइरहेको छ। यसका विरुद्ध संघर्ष गरेर, आम जनतालाई प्रशिक्षित गरेर जानुपर्छ। समग्र योजनामा अगाडि बढनु पर्दछ। जानी बुझी पनि साम्राज्यवादका विरुद्ध लाग्दैन र उसैको पिच्छ्लग्गु भएर मात्र कोहि हिंड्छ भने त्यसले जनता र राष्ट्रको हित गर्दैन । यस्तो प्रवृत्ति र नेतृत्वदेखि न्याय प्रेमी (राष्ट्रप्रेमीहरु अलग्गै रहनु पर्दछ । साम्राज्यवाद बिरुद्धको मुक्ति आन्दोलन लामो प्रक्रिया हो तर आजैदेखि सुरु गर्नु पर्दछ।
दोश्रो विषय नेपाली जनताले आफ्नो विशेषताको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकास गरेर दुनियाँलाई नयाँ सभ्यता सिकाउने हो । आज दुनियाँमा सभ्य र शक्तिशाली छौं भन्ने साम्राज्यवादी देश अमेरिकामा रंगभेद चरम छ। आज पनि अमेरिकी चिल्ला सडकमा काला जातिलाई बुटले कुल्चेर मारिन्छ । साम्राज्यवादीको सभ्यता, उफ ! सामुदायिक तथा जातीय संमिश्रणबाट नयाँ समुदाय/जाति/सभ्यता निर्माण भएको देश हो नेपाल । यो सद्भाव,सहिष्णुता, एकतालाई थप विकसित गरेर मानव समुदाय यसरी मिलेर बस्नु पर्छ भन्ने सन्देश दुनियाँलाई दिनुपर्छ । सकिन्छ पनि।त्यसैले पछाडी परेका जाति समुदायहरुलाई मुल प्रवाहमा पुर्याएर नेपाली जातिको सभ्यता दिनु पर्दछ । यहाँ जातिभित्र प्रजातिहरु रहने नै भए । छिटो भन्दा छिटो महिला र पुरुषबीच पूर्ण समानता भएको देश नेपाल बनाउनुपर्छ र अरुलाई सिकाउनु पर्छ। राजनैतिक शासन प्रणाली थप नयाँ नबनाई हुन्न । त्यो नेपाली मौलिकताको हुनुपर्छ । जनताले प्रत्यक्ष निर्वाचित गरेको राष्ट्र प्रमुख कार्यकारी हुने । त्यसै गरी प्रदेशमा पनि जन निर्वाचित कर्यकारी प्रमुख हुने । अपारदर्शी र महंगो निर्वाचनलाई पारदर्शी र सरल बनाउने संरचना निर्माण गर्नु पर्छ।
नेपालीहरुले आफ्नो पुँजी, सीप र श्रममा विश्वास र भर पर्नु पर्दछ । साम्राज्यवादले उसको पुँजी, सीप र श्रमलाई प्रयोग गरेर गरिब राष्ट्रलाई झन् कंगाल बानाउछ । यो कुरा चाहीँ नेपालीहरुले राम्रोसँग बुझ्नु पर्दछ । आज नेपालको सरकारले ठीक उल्टो काम गर्दैछ । यो बाटो हिंडेर नेपाल न सम्वृद्ध बन्छ न नेपाली सुखी भइन्छ, उदाहरणको लागि नेपालमा यतिका Hydropower हरु निर्माण भइरहेका छन । आम जनताको लगानीमा मात्र बनाएको एउटा छ, किन राज्यले त्यस्तो भरपर्दो संयन्त्र निर्माण गरेर जनताको पुँजी, श्रम र सीप केन्द्रित गरेर निर्माण गर्दैन ? किन भने यो राज्य/सरकार जनताप्रति उतरदायी छैन । कमिसन को चक्रमा दौडधूप छ सरकार । जनतालाई चाहीँ दलाल पुँजीवादीहरुको सेवक मात्र बनाई रहेको छ। त्यसै गरी अर्को उदाहरण हेरौं । नेपाली हरुले मुलतः कृषि मार्फत नै उन्नति प्रगति गर्ने हो । कृषिमा नै सम्वृद्धि खोज्ने हो । आज पनि ठूलो परिमाणमा कृषि जन्य खाद्य वस्तुहरु भारत लगायत विश् बजारबाट न आउने हो भने भोकै मरिने स्थिति छ । अझ सरकार भन्दैछ कि कृषिमा वैदेशिक लगानी भित्र्याउने भनेर । यदि नेपाली किसान र कृषिलाई आधुनिकीकरण गरेर औधोगीकीकरण नगर्ने हो भने आगामी १५/२० वर्षमा नेपाल भिखारीहरुको देश बन्न बेर लाग्दैन । आज नेपाली उपभोक्ताको किचनमा अमेरिकी गहुँ, भारतीय चामल, आलु र कोदो, चिनियाँ र भारती स्याउ आदि इत्यादि विभिन्न देशहरूबाट आयत भइरहेको छ । यो बिकराल अवस्था हो । यतिखेर नेपालमा कृषि क्रान्तिको दशक चल्नु पर्ने हो ।तर शासकहरु….! अन्धविश्वास, रुढीवादी कुपरम्परा, कुसंस्कार, छुवाछूत, भेदभावको तिब्रतामा उन्मुलन गर्दै मानवतावादी सभ्य समाजको निर्माण गर्नु पर्दछ। भ्रष्टचार निर्मुल पार्नु पर्दछ।
२१ औं शताब्दीको तेस्रो र चौंथो दशकको नेपाल सर्वहारा श्रमजीवी, मध्यम तथा राष्ट्रिय पुँजीपति वर्ग मिलेर दलाल तथा नोकरशाही वर्गलाई समाप्त पारी बनाएको हो भन्ने इतिहास निर्माण गर्नु पर्दछ। यिनै विषयहरुलाई केन्द्रमा राखेर पार्टीले कर्यदिशा तयार गरी कार्यन्वयन गर्नु आवश्यक छ । उपरोक्त लक्ष्य तथा उदेश्य राखेर बनाएको पार्टी/आन्दोलन/सत्तामा नयाँ र पुरानो, गाउँ र सहर, जनजाति र गैर जनजाति, महिला र पुरुष, सत्तामा जाने र नजाने बिचको अन्तर्विरोध क्रमशः हल हुँदै जान्छ । अहिले गतिशीलतामा अबरोध पैदा भएको छ । बगिरहेको नदी पहाड खसेर छेके पछि जसरी पानीले बार भत्काएर आफ्नो गति पैदा गर्न कोसिस गर्छ त्यसै गरी नेपाल र नेपालीको उन्नति र प्रगतिको गतिलाई साम्राज्यवादले रोकिरहेको छ । त्यो बाँधलाई भत्काएर नेपालीले आफ्नो गति पैदा गर्नु पर्दछ। यो परिवर्तनको नेतृत्व गर्न प्रचण्ड नै अग्रसर हुनुपर्छ। यो आजको नेपालको आवश्यकत हो । उहाँसंग त्यो क्षमता र गतिशीलता छ । अब दृढ इच्छा शक्तिका साथ लाग्नु पर्दछ । यतिखेर नेपालमा छिटोछिटो एक पछि अर्को संकट बढदै गइरहेको छ । यस संकटको ठीक ढंगले उपयोग गर्न सक्नु नै नेतृत्वको कला र क्षमता हो ।अन्यथा यो अस्तव्यस्ताको बीचबाट नेतृत्वको जन्म हुने कुरा समाज विज्ञानको नियम नै हो । शहीदको बलिदान, घाइते अपांगहरुको पीडा, रित्तो काख र अंगालो, झुपडीको बास, पुर्खाहरुको बलिदानले यही भनिरहेको छ। -लेखक नेकपा (माओवादी केन्द्र)ताप्लेजुङका इन्चार्ज हुनुहुन्छ ।