| |

स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न आग्रह

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ३ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण वा स्वास्थ्यमा कुनै समस्या देखिएमा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न गाउँपालिकाबासीलाई आग्रह गरेको छ । होम आइसोलेसनमा बस्दा वा कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न गाउँपालिकाले गाउँबासीलाई आग्रह गरेको हो ।
गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाद्वारा जारी सूचनाअनुसार सात वटै वडाका बासिन्दालाई स्वास्थ्यमा कुनै समस्य आएमा सम्बन्धित वडामा सम्पर्क गर्नुपर्ने स्वास्थ्यकर्मीको नाम तोकिएको छ । आफ्नो स्वास्थ्य सुरक्षालाई ख्याल गर्न र सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डलाई कार्यान्वयन गर्न गाउँपालिकाबासीलाई आग्रह गरिएको छ । कोरोना प्रकोप रोकथाम तथा नियन्त्रणसम्बन्धी विभिन्न योजना सार्वजनिक गर्दै गाउँपालिकाले अहिलेको सम्वेदनशील समयमा सबै नागरिक जिम्मेवार हुनुपर्ने उल्लेख गरेको छ ।
गाउँपालिकाले कुनैपनि सङ्क्रमण प्रभावित ठाउँबाट आएका नागरिक, शंकास्पद व्यक्ति, सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका नागरिकले अनिवार्य होम आइसोलेनमा बस्नुपर्ने नियम बनाएको छ । गाउँमा अनावश्यक हिँडडुल नगर्न, अत्यावश्यक काममा हिड्नुपर्दा सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ । यस्तै भीडभाड हुने मेला, विवाह, वर्तबन्ध, बर्खान्तजस्ता सामाजिक कार्यहरु गर्न पाइने छैन भने खेलकुदजन्य गतिविधिमा पनि गाउँपालिकाले प्रतिवन्ध लगाएको छ ।
खाद्यान्न लगायत अत्यावश्यक सेवाका बाहेक यातायात सञ्चालनमा पनि प्रतिवन्ध गरिएको छ । गाउँपालिकाका भित्रका बजार पसल बिहान ६ देखि ९ बजे र साँझ ३ देखि ६ बजेसम्म उच्च सावधानीका साथ सञ्चालन गर्न पाइने भएको छ । उक्त गाउँपालिकाले बनाएको नियम तथा निर्देशनलाई पालना नगरे कानुनबमोजिम कारबाही हुने पनि सचेत गराएको छ । यता होम आइसोलेसनमा बसेका सङ्क्रमित व्यक्तिलाई भने ‘होम आइसोलेसन किट’ मार्फत प्रारम्भिक औषधि उपचारको व्यवस्था मिलाएको साथै दिनमा एक पटक स्वास्थ्यकर्मीको परामर्श उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts