| |

ताप्लेजुङमा निषेधाज्ञाको समय जेठ १० गतेसम्म बढाइयो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २ ।
ताप्लेजुङमा आगामी जेठ १० गते सम्मका लागि निषेधाज्ञाको समय दोस्रो पटक थप गरिएको छ । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेकाले पुनः एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको हो ।
प्रमुखु जिल्ला अधिकारी उमेश पाण्डेद्वारा आइतबार जारी सूचनाअनुसार मङ्गलबारदेखि आउँदो साताको सोमबारसम्म एक हप्ता निषेधाज्ञाको समय थपिएको हो । यसअघि सुरुमा बैशाख २० गतेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको थियो । सुरुको समयपछि बैशाख २७ गतेदेखि जेठ ३ गते सोमबार सम्मका लागि पहिलो पटक निषेधाज्ञाको समय थप गरिएको र सो अवधि सोमबार सकिँदै छ ।
जिल्लामा सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्दै गएकाले निषेधाज्ञाको समय थप गरिएको प्रजिअ पाण्डेले जानकारी दिननुभयो । पाण्डेद्वारा जारी सूचना अनुसार यसअघि कायम गरिएकै क्षेत्रमा निषेधाज्ञा लागू हुने छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्नेसम्म क्षेत्र तोकिएको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका–३ मा पर्ने लिङ्खिम वारि फुरुम्बु क्षेत्र, सिरिजङ्घा गाउँपालिका–३ सिकैँचा वारि फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको कामीडाँडा र काबेली खोलासम्म सीमा क्षेत्रभित्र निषेधाज्ञा लागू हुने छ ।
यता यस पटकको निषेधाज्ञामा फुङ्लिङ बजारमा बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक उपभोग्य वस्तु खरिद बिक्री गर्ने खाद्यान्न तथा तरकारीजन्य पसल सञ्चालन गर्न पाइने भएको छ । तोकिएको समयमा पसल सञ्चालन गर्दा भने पूर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनिवार्य गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts