फक्ताङ्लुङ गाउँपालिका जानुपरे स्वास्थ्य जाँच अनिवार्य
–प्रयास लिम्बू
ताप्लेजुङ, बैशाख ३० । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँ प्रवेश गर्नेलाई स्वास्थ्य जाँच गराएर मात्र प्रवेशको अनुमति दिने भएको छ । हालसम्म कोरोना सङ्क्रमण नदेखिएको जिल्लाको एकमात्र फक्ताङ्लुङ गाउँपालिकाले अहिलेको सम्वेदनशील समयमा स्वास्थ्य जाँच गराएर मात्र पालिका प्रवेश गर्न दिने भएको हो ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमण दर तीब्र रुपमा फैलिइरहेको अवस्थामा पालिकाभित्र प्रवेश गर्नलाई स्वास्थ्य जाँच अनिवार्य गरेको छ । जिल्लाकै करिव आधा क्षेत्रफल ओगटेको साथै सात वटा वडा रहेको फक्ताङ्लुङ गाउँपालिका प्रवेश गर्ने जो–कोहीले स्वास्थ्य जाँच गर्नुपर्ने भएको छ ।
सडक र पदमार्ग दुवै माध्यमबाट गाउँपालिका प्रवेश गर्ने मुख्य नाका सिँवा बजारमा रहेको ‘हेल्थ डेस्क’ स्थापना गरिएको र कुनै पनि गाउँ प्रवेश गर्ने नागरिकले सो हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउनुपर्ने गाउँपालिकाका अध्यक्ष सरोज एभेङले बताउनुभयो । अध्यक्ष एभेङका अनुसार स्वास्थ्य जाँचका क्रममा कुनै समस्या वा लक्षण देखिए सम्बन्धित व्यक्तिले गाउँ प्रवेश गर्न पाउने छैन । अत्यन्तै घातक कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले नै कार्यपालिकाले निर्णय गरेर उक्त नियम कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
यस्तै सदरमुकाम फुङ्लिङसहित सङ्क्रमण प्रभावित क्षेत्रबाट गाउँपालिका प्रवेश हुने रुटका ट्याक्सी, जिप लगायत सबै सवारी साधनलाई प्रवेशमा रोक लगाएको पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठले जारी गर्नुभएको सूचनामा उल्लेख छ । बिरामी प्रयोजन, खाद्यान्न तथा निर्माण सामग्री ढुवानी लगायत अत्यावश्यक काम प्रयोग भएका सवारी साधनले भने प्रवेश पाउने छन् ।
यता गाउँपालिका तथा वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सेवाहरु पनि आगामी जेठ ५ गतेसम्म प्रवाह नहुने भएको छ । कोभिडको जोखिमलाई दृष्टिगत गर्दै गरिएको निर्णय तथा नियम बिहीबारदेखि नै कडाइका साथ कार्यान्वयनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।