| | |

देउराली सामुदायिक वन समूहद्वारा वन क्षेत्रभित्रै नर्सरी स्थापना

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, बैशाख २७ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित एक सामुदायिक वन उपभोक्ता समूहले जङ्गलभित्रै नर्सरी स्थापना गरेको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रको जङ्गलभित्रै नर्सरी स्थापना गरेको हो ।
वन जङ्गलको संरक्षणमा वृक्षरोपण गर्ने साथै वनबाट आम्दानी पनि गर्ने उद्देश्यले नर्सरी स्थापना गर्न सुरु गरेको समूहले जनाएको छ । देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका सचिव पासाङरिता शेर्पाका अनुसार नर्सरीमार्फत बिरुवा उत्पादन गरेर सामुदायिक वनभित्रै रोप्ने समूहको योजना रहेको छ । रेड पान्डा नेटवर्क नामक संस्थाको सहयोगमा वन क्षेत्रमै नर्सरी स्थापना गरिएको शेर्पाले बताउनुभयो ।
शेर्पाका अनुसार लौठ सल्ला र बालचिण्डे प्रजातिको करिव २० हजार बिरुवा उत्पादन गर्नेगरी नर्सरी स्थापना गरिएको छ । वन क्षेत्रमै सुरु गरेको नर्सरीबाट उत्पादित बिरुवा रोपेर सामुदायिक वनको संरक्षण गर्ने र लौठ सल्लाजस्ता बहुमूल्य रुख बिरुवा जोगाएर पछि राम्रो आम्दानी गर्ने समूहको योजना रहेको उहाँले बताउनुभयो ।
सामुदायिक वनले पर्यापर्यटनको योजनालाई पनि अघि बढाउँदै आएको छ । सुकेटार विमानस्थल नजिक रहेको सामुदायिक वनले वनभित्रै पोखरी निर्माण, पदमार्ग निर्माण, पिकनिक स्पट निर्माणजस्ता योजना सुरु गरेर पर्यापर्यटनको विकासमा जोड दिँदै आएको समूहका सचिव शेर्पाले बताउनुभयो । सो वन क्षेत्रभित्रै गुप्ते सूर्योदय डाँडा रहेकाले आन्तरिक पर्यटकहरुको राम्रै उपस्थिति हुने गरेको छ । यस्ता स्रोत र सम्भावना भएका कारण पर्यापर्टनमा जोड दिँदै आएको समूहले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts