एकै स्टेजबाट बाबुछोरीले जितेर लगे अवार्ड

खगेन्द्र अधिकारी
ताप्लेजुङ,१८ बैशाख । गायन यात्रामा रहेका बाबुछोरीले एकै स्टेजबाट दुई फरक विधामा अवार्ड जितेर लगेको खुसी सायदै कमैका परिवारमा मात्र भित्रन्छ । यस्तै दुर्लभ सन्देशका हकदार हुनु भएको छ,बाबु वीरेन्द्र श्रेष्ठ र छोरी सुचिन्दा । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनाम पुख्र्यौली घर भइ हाल राजधानी काठमाण्डौ बस्दै आउनु भएका वीरेन्द्र र सुचिन्दाले योङ माइण्डस अवार्ड २०२१ को पछिलो संस्करणमा एकै स्टेजबाट अवार्ड हात पार्नु भएको हो । नवगायिका सुचिन्दाले सर्वोत्कृष्ट नव गायिका पप÷लोकपपमा अवार्ड हात पार्नु भएको हो भने बुवा वीरेन्द्रले ‘जाले रुमाल’ बोलको गीतमार्फत सर्वोत्कृष्ट लोक पप गायकको अवार्ड पाउनुभयो । बीरेन्द्रको जाले रुमाल बोलको गीत अघिल्लो महिना सम्म करिव ३० लाख जनाले हेरिसकेका छन् । इनाक्सी इन्टरटेनमेन्ट युट्युव च्यानलबाट स्रोता तथा दर्शकमाझ प्रस्तुत भएको जाले रुमाल पछिल्लो समय युवा पुस्ताको रोजाइमा परेको गीत तथा म्युजिक भिडियो हो । ४ वर्षअघि ‘एकचोटि आइदेउन’ बोलको गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रमा पहिलो पाईला अगाडि बढाउनु भएकी सुचिन्दा पप र लोकपप जनरमा जम्न थाल्नु भएको छ । ४ वर्ष अगाडि रेकर्ड गरिएको सो गीतको म्युजिक भिडियो भने डेढबर्ष अघि हाईलाइट्स नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । सोही गीतमार्फत योङ् माइण्ड्स अवार्डमा नवगायिका सुचिन्दाले सर्वोत्कृष्ट नव गायिका पप÷लोकपप अवार्ड हात पारिन् । पश्चिमा पप जनरमा अव्बल लाग्ने स्वर भएकी गायिका सुचिन्दा कर्णप्रिय स्वरकी धनी भएकै कारण बाबु वीरेन्द्रसंगै एउटै स्टेजबाट अवार्ड जीत्न सफल भएको बाबु वीरेन्द्रको भनाइ छ । काठमाडौं विश्व विद्यालयमा बिबीए तेस्रो बर्षमा अध्यनरत सुचिन्दा आफ्नो स्कुलको भवन निर्माण गर्न देउसीभैलो कार्यक्रममा लिड गायकको भूमिकामा उभिदैं गर्दादेखि नै गीत÷संगीतप्रतिको उत्कण्ठा बसेको बताउँनहुन्छ । बढी मात्रामा अंग्रेजी गीत सुन्ने बानी भएकी सुचिन्दालाइ बाबु वीरेन्द्रको संगीत प्रतिको लगाव,मोह र पारिवारिक माहोलले गायनतर्फ उत्साहित गरेको देखिन्छ । सानै उमेरदेखि अध्ययन संगै कला क्षेत्रमा समेत अब्बल सुचिन्दाले अध्यनको क्रममा बुढानिलकण्ठ स्कुलमा प्रत्येक बर्ष ‘बेस्ट डान्सर’ को ताज पहिरिने गरेको उदाहरण पनि छ । यसले सुचिन्दालाइ गायन कलामा मात्र केन्द्रित नगरी नृत्य सहित खेलकुद क्षेत्रमा समेत जमेको स्रष्टाको रुपमा बुझाउँछ । बिद्यालयमा अध्ययन गर्दा राष्ट्रपति रनिङ शिल्डमा विभिन्न विधामा गोल्डमेडल समेत प्राप्त गरेकी गर्नु भएको थियो,उहाँले । वीरेन्द्र पेशाले इञ्जिनियर हुनुहुन्छ । सबैको प्रीय, मधुर वाणीका धनी,हक्की र निडर स्वभाव वीरेन्द्रका बिशेषता हुन् । हाइड्रो इञ्जिनियरिङमा लामो समय व्यतित गर्नु भएका उहाँका आफ्नै हाइड्रो प्रोजेक्ट पनि सञ्चालनमा छन् भने हाइड्रो प्रोजेक्ट मेनेजमेन्टमा समेत उहाँ कुशल मानिनुु हुन्छ । चर्चित सङ्गीतकार दिपक शर्माको शब्द सङ्गीतमा बनेको ‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट आफ्नो साँगीतिक जीवन यात्रा सुरु गर्नु भएका उहाँले यसै गीतमार्फत सर्बोत्कृष्ट लोकपप बिधामा ओएस अवार्ड समेत हात पार्नु भएको थियो । ‘पिरिमको बाढी’ बोलको गीतबाट पुनः ओएस अवार्डको अर्को संस्करणमा दोस्रो पटक अवार्ड हात पार्न सफल उहाँ योङ्ग माइण्ड्स अवार्डको दुईबर्ष अगाडि भएको संस्करणमा समेत पृथक धारमा सफलता हासिल गरेका र नेपाली सङ्गीतमा समेत ठूलो योगदान दिने व्यक्तित्वको बिधामा सम्मानित हुनु भएको थियो । केही समयअघि तेजस्वी कला केन्द्र एण्ड मिडियाले आयोजना गरेको डान्स च्याम्पियनसीप तथा विशिष्ट कलाकार सम्मानमा साँगीतिक क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको लागि वीरेन्द्रलाइ‘विशिष्ट सम्मान’ प्रदान गरिएको थियो । त्यस्तै मोडेल सङ्स अवार्ड २०१८ मा ‘बेस्ट लोक पप सिंगर’बाट सम्मानित हुनु भएका उहाँले त्यसपछि दर्जनांै लोकप्रीय गीतहरुमार्फत दर्शक÷श्रोताको मन जित्दै आउनु भएको छ ।