| |

ताप्लेजुङमा कोरोना नियन्त्रणका योजना पारित

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, बैशाख १२ ।
ताप्लेजुङमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजना पारित गरिएको छ । हाल तीब्र रुपमा फैलिरहेको कोरोनाको प्रभावलाई दृष्टिगत गरी जिल्लास्थित कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका योजना पारित गरेको हो ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डीसीएमसी) का संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा आइतबार बसेको बैठकले कोरोना नियन्त्रण र रोकथामको उपाय स्वरुप सीमा–नाकामा हेल्थ तथा हेल्प डेस्क स्थापना गरी कडाइ गर्ने, शिक्षण संस्थाहरु बन्द गर्ने लगायतका योजनाहरु पारित गरेको छ । प्रजिअ पाण्डेका अनुसार कोरोना नियन्त्रण तथा रोकथामका योजनास्वरुप जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय तहलाई आइसोलेसन कक्ष सञ्चालन गर्न आग्रह गर्ने निर्णय भएको छ ।
यस्तै आगामी बैशाख २० भित्र जिल्लाका सबै विद्यालयले परीक्षा सञ्चालन गरी सक्ने र परीक्षा सञ्चालन भएपश्चात अनिश्चित समयका लाग शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय भएको प्रजिअ पाण्डेले बताउनुभयो । अन्तर जिल्लासँगको सिमाना काबेली र गुफापोखरी साथै सुकेटार विमानस्थलमा हेल्प तथा हेल्थ डेस्क स्थापना गरिने भएको छ । त्यस्तै लामो दूरीमा सञ्चालन हुने यातायातका साधनले सुरुमा यात्रा गर्ने यात्रुबाहेक बीच बाटोबाट यात्रु चढाउन नपाउने भएका छन् भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने र जिल्ला प्रवेश स्थलमा सुरक्षाकर्मीलाई यात्रु विवरण उपलब्ध गराउनुपर्ने छ ।
त्यस्तै जिल्लामा रहेका एम्बुलेन्सहरुलाई कोभिड रोगको नियन्त्रणका लागि उत्तरदायी बनाउने निर्णय भएको छ । केन्द्रको बैठकले कोभिड–१९ रोगको पीसीआर तथा एन्टीजेन सङ्कलनका लागि जनस्वास्थ्य अधिकृत प्रतिमा खरेल र फुङ्लिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु गुरुङलाई फोकल पर्सन तोकेको छ । पीसीआर सङ्कलनका लागि भीटीएम भाइल र एन्टीजेन किट्स प्रदेश सरकारसँग माग गर्ने र पाँचसय थान भने जिल्ला आफैँले खरिद गर्ने निर्णय भएको छ ।
नियमित पीसीआर परीक्षणको व्यवस्था, कन्ट्रयाक ट्रेसिङलाई नियमित गर्ने, जिल्लाभित्र दैनिक तथा साप्ताहिक रुपमा लाग्ने बजार हाटमा भौतिक दूरीसहित स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने निर्णय भएको छ । यसरी कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि डीसीएमसीले बनाएको योजना तथा निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गरी सफल बनाउन केन्द्रका सल्लाहकार एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts