| |

साब्लाखु भञ्ज्याङ र थेचम्बुको पुर्णेडाँडामा आरोग्य केन्द्र स्थापना

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १० ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले सिदिङ्वाको केन्द्र साब्लाखु भञ्ज्याङ र पाथीभरा याङ्वरक गाउँपालिका केन्द्र थेचम्बुको पुर्णेडाँडामा सेवा केन्द्र स्थापना गरेको हो ।
उक्त दुईवटा गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएसँगै त्यहाँका सर्वसाधारणले सुविधा पाउने भएका छन् । स्थापित सेवा केन्द्रमार्फ आयुर्वेदिक उपचार पद्धतिसँग सम्बन्धित सबैखाले उपचार सेवा सर्वसाधारणले उपभोग गर्न पाउने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । उक्त सेवाहरु निःशुल्क रुपमा पाउने पनि जिल्ला आयुर्वेदक स्वास्थ्य केन्द्रका सूचना अधिकारी टेकनाथ अर्यालले जानकारी दिनुभयो । उहाँकाअनुसार आयुर्वेदिक पद्धतिको उपचार सेवाका साथ नागरिकलाई योगाभ्यास र शारीरिक व्यायाम सहितको जीवनपद्धति अपनाउन प्रेरित गर्नमासमेत केन्द्रको भूमिका रहने छ ।
नागरिक आरोग्य सेवा केन्द्र स्थापनाले आयुर्वेदिक पद्धतिको उपचारसहित प्रभावकारी सेवा सेवाग्राहीले पाउनेमा आपूmहरु विश्वस्त रहेको सम्बन्धित गाउँपालिकाका पदाधिकारीले बताएका छन् । साब्लाख भञ्ज्याङमा स्थापना गरिएको सेवा केन्द्रको उद्घाटन सिदिङ्वा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया र थेचम्बुको पुर्णेडाँडामा स्थापना भएको केन्द्रको उद्घाटन पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले गर्नुभएको थियो । यसअघि मिक्वाखोला गाउँपालिका केन्द्र साँबाको थलङमा पनि नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी सेवा प्रवाह हुँदै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

Similar Posts