फुङ्लिङको भानुजन माविमा आईसीटी ल्याव सुरु

–उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ५ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ अम्बिटारस्थित भानजन माध्यमिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आईसीटी ल्याव) को सुरुआत गरिएको छ । सूचना प्रविधिको विकासको पहुँच विद्यालय स्तरसम्म पु¥याउने उद्देश्यसहित ल्यावको सुरुआत गरिएको हो ।
हुमन प्राक्टिस फाउण्डेसन (एचपीएफ) नामक संस्थाको सहयोगमा भानुजन माध्यमिक विद्यालयमा ल्याव सुरु गरिएको प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिनुभयो । ल्याव सञ्चालनका लागि २६ वटा कम्प्युटरसहित अन्य प्रविधि जडान गरिएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एचपीएफमार्फत डेनकमार्ककी नागरिक पार्लिनको अगुवाइमा सहयोग प्राप्त भई ल्यावको स्थापना गरिएको र पार्लिनकै उपस्थितिमा शुभारम्भ गरिएको प्रधानाध्यापक राईले बताउनुभयो ।
ल्याव सञ्चालनका लागि २६ थान कम्प्युटर, ब्याट्री, इन्भर्टर, इन्टरनेट लगायतका उपकरण तथा सामग्री जडान गरिएको विद्यालयले जनाएको छ । यता ल्यावको स्थापनासँगै अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसले ठूलो सहयोग पुग्ने विश्वास बिद्यालयले लिएको छ । सदरमुकाममा रहेको विद्यालय भए पनि धेरै विद्यार्थी ग्रामीण क्षेत्रबाट आएर अध्ययन गर्ने भएकाले उनीहरुलाई सूचना प्रविधिबारे ज्ञान सीप हासिल गर्ने अवसर पनि मिलेको प्रधानाध्यापक राईको भनाइ छ ।