कर्णाली प्रदेश सरकारलाई विश्वासको मत प्राप्त
–उज्यालो पोष्ट
सुर्खेत, बैशाख ३ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार अन्ततः जोगिएको छ । शुक्रवार सुरु भएको प्रदेश सभाको सातौं अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि भएको मतदानमा २२ मत प्राप्त गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । उहाँको विपक्षमा १५ मत परेको थियो ।
प्रदेशसभामा खसेको कूल ३७ मत मध्ये मुख्यमन्त्री शाहीको सरकारको पक्षमा २२ मत खसेको हो । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीको सरकारको पक्षमा विश्वासका लागि आवश्यक बहुमत प्राप्त भएकोले मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नुभएको थियो ।
मुख्यमन्त्री शाहीलाई नेकपा माओवादी केन्द्रका १२ मत, कांग्रेसका ६ मत प्राप्त भएको थियोभने चार जना नेकपा एमालेबाटै आइ कूल २२ पुगेको थियो । मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन १९ मतको आवश्यकता थियो । एमालेबाट प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको मत मुख्यमन्त्री शाहीलाई गएको थियो । राप्रपाको एक मत तटस्थ बसेको थियो ।