खोप आइपुग्यो, लगाउनलाई ६२ करोड रूपैयाँ लाग्‍ने

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,माघ ९ । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पु¥याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘२ र ३ दिनभित्रै प्रादेशिक स्टोरमा खोप पठाउन सुरु भइहाल्छ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । बाल स्वास्थ्य तथा खोप शाखाका एक अधिकारीका अनुसार २ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम राख्दै खोपको भण्डारण, ढुवानी र ओसारपसार गरिन्छ । पहिलो चरणमा खोप लगाउन पाउनेको जिल्लागत विवरणअनुसारको मात्रा भिन्दाभिन्दै प्याकेट बनाई हरेक जिल्लामा पठाइनेछ । केही खोप खेर जाने आकलनसहित प्रत्येक प्याकेटमा करिब १० प्रतिशत मात्रा बढी राखिनेछ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले ७ देखि १० दिनभित्र खोप अभियान थाल्न निर्देशन दिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘बढीमा १० दिनभित्र अग्रपंक्तिमा खटिनेहरूलाई कोभिसिल्ड खोप लगाउन सुरु हुन्छ,’ उनले भने । पहिलो चरणमा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाइकर्मी, स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा संलग्नलाई खोप दिने सरकारको योजना छ । ‘६ हजार ८ सय सरसफाइकर्मीले खोप पाउने भएका छन् । ५२ हजार स्वास्थ्य स्वयंसेविका भनिए पनि अहिले यो संख्या कम देखिएको छ,’ मन्त्रालयका अर्का अधिकारीले भने, ‘हालसम्म प्राप्त तथ्यांकअनुसार २ लाख २० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइनेछ । यो संख्या बढ्न पनि सक्छ ।’ स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा सबैभन्दा बढी वाग्मती प्रदेशमा ६३ हजार ३ सय ६० जनालाई र सबैभन्दा कम कर्णाली प्रदेशमा ११ हजार ५ सय ३२ जनालाई खोप दिइनेछ । लुम्बिनीमा ३९ हजार ४ सय ९५, प्रदेश १ मा ३५ हजार ४ सय ५६, प्रदेश २ मा ३४ हजार ८ सय ४, गण्डकीमा १७ हजार ६ सय ३० र सुदूरपश्चिममा १६ हजार २ सय ९३ जनाले खोप लगाउन पाउने भएका छन् । यो संख्या अद्यावधिक भइरहेकाले केही हेरफेर हुन सक्ने पनि मन्त्रालयले जनाएको छ । जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौंमा ३१ हजार ५ सय १९ जना लाभान्वित हुनेछन् भने सबैभन्दा कम मुगुमा ९४ जनाले पहिलो चरणको खोप पाउनेछन् । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको छ । स्वास्थ्य मन्त्रालयको पत्रअनुसार शुक्रबार उक्त बजेट निकासा दिइने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts