भारतको गुजरातमा ट्रकले कुल्चिएर १५ जनाको मृत्यु

नयाँदिल्ली,माघ ७ । भारतको गुजरात राज्यको सुरतमा सडकछेउ सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । सुरतको कोसम्बामा सोमबार राति भएको दुर्घटनामा मृत्यु भएकामध्ये ७ जना महिला, ७ जना पुरुष र एक वर्षीय शिशु रहेका अधिकारीहरूले जनाएका छन् । प्रहरीका अनुसार १२ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई २ लाख भारतीय रुपैयाँको राहत दिने घोषणासमेत गरेका छन् । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारजनप्रति सहानुभूतिसमेत व्यक्त गरेका छन् । मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय सहायता कोषबाट उक्त रकम दिइने भएको अधिकारीहरूले जनाएका छन् । ‘सुरतमा भएको दुर्घटनामा परी मानवीय क्षति भएकोमा मलाई अत्यन्त दुःख लागेको छ, यो घटना ज्यादै पीडादायी छ, शोकाकुल परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु,’ प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन् । मोदीले दुर्घटनामा घाइते भएकाहरूलाई ५० हजार भारतीय रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने अर्को ट्वीटमार्फत जनाएका छन् ।

Similar Posts