| |

मतदान स्थल थप्नुपर्ने स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलको सुझाव

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, पुस २८ ।
ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलले केही ठाउँमा मतदान स्थल थप गर्नुपर्ने निर्वाचन कार्यालयलाई सुझाव दिएका छन् । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकमा सहभागी जनप्रतिनिधि दलका प्रतिनिधिले मतदाता सङ्ख्या साथै भौगोलिक बनावटका कारण मतदान स्थल थप गर्नुपर्ने सुझाव दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङको आयोजनामा मङ्गलबार बसेको बैठकमा मतदातालाई सहज हुनेगरी मतदान स्थल थप गर्नुपर्ने साथै निर्धारण गर्नुपर्नेमा सहभागीको जोड थियो । जनप्रतिनिधि तथा दलका प्रतिनिधिले कुनै ठाउँमा मतदान स्थल पुग्नलाई मतदाताले घण्टौं मात्र नभई एक दिन पुरै हिड्नुपर्ने अवस्थासमेत रहेकाले त्यस्तो ठाउँमा मतदान स्थल थप गर्नुपर्ने बताएका हुन् ।
जिल्लाको फुङ्लिङ नगरपालिका वडा नं. ९ हाङ्देवा र वडा नं. ८ दोखुमा मतदान स्थल थप्नुपर्ने जिल्ला निर्वाचन कार्यालयलाई सुझाव दिइएको छ । फराकिलो भौगालिक बनावट र मतदाता सङ्ख्या दुवै अवस्थाका आधारमा मतदानस्थल थप गर्नुपर्ने आवश्यक रहेको नगरप्रमुख छत्रपति प्याकुरेलले बताउनुभयो । यस्तै फक्ताङ्लुङ गाउँपालिका वडा नं. ६ लेलेप, सिरिजङ्घा गाउँपालिका वडा नं. १ सिनाम, वडा नं. २ आम्बेगुदिन, सिदिङ्वा गाउँपालिका–३ आङ्खोप, आठराई गाउँपालिका–२ फुलबारी र वडा नं. ३ हाङ्पाङमा पनि मतदान स्थल थप्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
मिक्वाखोला गाउँपालिका वडा नं. ५ पापुङ र वडा नं. ४ साँबा तथा मेरिङ्देन गाउँपालिका वडा नं. १ थिङ्लाबुमा पनि मतदान केन्द्र थप गर्नुपर्ने स्थानीय जनप्रतिनिधिले बताएका छन् । उक्त क्षेत्रहरुमा मतदाता सङ्ख्याभन्दा पनि विकट तथा फराकिलो भौगोलिक बनावटका कारण मतदान स्थल थप्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।


स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिको मतदानस्थल थप्नुपर्ने र परिवर्तन गर्नुपर्ने सुझाव आए पनि मङ्गलबारको बैठकमा भने कुनै निर्णय नगरिएको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताउनुभयो । मतदान स्थल तथा केन्द्र निर्धारणबारे छलफल भएको र पुनः अर्को बैठक बसेर औपचारिक निर्णयपछि मात्र स्थल साथै केन्द्र थप सम्बन्धी निर्वाचन आयोगमा सिफारिस गरिने चापागाईले बताउनुभो ।
जिल्ला निर्वाचन अधिकारी मोहनप्रसाद कोइरालाले न्युनतम् एक हजार बढी मतदाता सङ्ख्या भएको ठाउँमा मतदान स्थल थप गर्न सकिने व्यवस्था रहेको जानकारी दिनुभयो । यसअघि २०७४ सालमा निर्वाचन हुँदा भन्दा हाल सात हजार बढी मतदाता थपिएकाले सोहीअनुसार थप मतदान स्थल तथा केन्द्र निर्धारण गर्न सकिने कोइरालाले बताउनुभयो । मतदाताको सङ्ख्या ७८ हजार ४१७ रहेकोमा हाल बढेर ८५ हजार ४६७ पुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालले जानकारी दिनुभयो ।
सूचना अधिकारी दुलालका अनुसार गत निर्वाचनपछि २०७७ पुस ५ गते सम्ममा सात हजार ५० मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले अध्यावधिक गरेको तथ्याङ्क अनुसार ८६ हजार ७७२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको भए पनि एक हजार ३०३ जना भने १८ वर्षभन्दा कम उमेरका नागरिक रहेका उहाँले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको निर्वाचनमा ताप्लेजुङमा ७३ वटा मतदान स्थल ११४ वटा केन्द्र रहेका थिए । सरकारले आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी स्वरुप आफ्नो क्रियाकलाप सुरु गरेको हो । मतदाता नामावली प्रकाशन गर्ने, नामावलीमा भएको त्रुटी सच्याउने, नामावलीबाट नाम हटाउनने लगायतका क्रियाकलापका लागि माघ १५ देखि २० गते सम्मको कार्यक्रम तालिका पनि निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ ।
बैठकमा नगरप्रमुख प्याकुरेलसहित सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँबा, सिदिङ्वा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया, आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौला, मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्बाङ, पाथीभरा याङ्वरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङको उपस्थिति रहेको थियो । त्यस्तै प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र प्रहरी नायव उपरीक्षक रोशन बुढाथोकी, सह सेनानी अर्जुन परियार, प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाई लगायतको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts