म अध्यक्ष छोडिदिन्छु, चुनाव गरौं ः प्रधानमन्त्री ओली

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,पुस १६ । पार्टी अध्यक्षको चुनाव गराउने भए नेकपाको अध्यक्ष छोड्न तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले अध्यक्षका लागि चुनाव गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल तयार हुनुपर्ने बताए । आफू निकटका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा बुधबार ओलीले पार्टीभित्र आफू जहिले पनि निर्वाचित भएर आएको तर दाहाल र नेपालमा भने पार्टीभित्र निर्वाचनमा जान आँट नभएको बताए । ’उहाँहरू चुनावमा आउन तयार हुनुहुन्न । उहाँहरू अध्यक्ष मागिरहनुभएको छ । अध्यक्ष छोडिदिने हो, ठीक छ । आउनुस् न त चुनाव गरौं । म छोडिदिन्छु, चुनाव गरौं । चुनाव गर्न आँट गर्नुहुन्न,’ ओलीले भने । दाहाल र नेपालले सोझै अध्यक्ष दिनुपर्ने माग गरेको ओलीको भनाइ थियो । अध्यक्ष दाहाल पार्टीभित्र कहिल्यै पनि चुनाव नगरी नेतृत्वमा रहेको भन्दै ओलीले आफू जहिल्यै प्रतिस्पर्धाबाट पार्टीको नेता भएको बताए । उनले आफू स्वास्थ्य स्थिति कठिन भएको बेलासमेत अध्यक्षमा लडेर निर्वाचित भएको भन्दै प्रतिस्पर्धाबाट नेतृत्वमा जाने भए आफू तयार रहेको बताए । ’केपी ओली तानाशाह भन्नुहुन्छ । एकपल्ट महाधिवेशन नगर्ने, एकपल्ट चुनाव नगर्ने, एकपल्ट प्रतिस्पर्धा नगर्ने, प्रतिस्पर्धा गरे हार्ने, हारे मतपत्र च्यात्ने त्यो इतिहासबाट आएको होइन केपी ओली,’ उनले भने । तत्कालीन एमालेको संसदीय दलको नेतामा झलनाथ खनालसँग प्रतिस्पर्धा गरेर आएको र एमालेको नवौं महाधिवेशनमा पनि माधवकुमार नेपालसँग प्रतिस्पर्धा गरेर निर्वाचित भएको ओलीको भनाइ थियो । त्यतिबेला स्वास्थ्यस्थिति नाजुक भएको अवस्थामा पनि कार्यकर्ताहरूले आफूलाई निर्वाचित गरेको उनले स्मरण गरे । अध्यक्ष नेपाल दाहाल(नेपाल पक्षका)लाई निर्वाचन हार्दा पनि प्रधानमन्त्रीसम्म पुगेर दुनियाँलाई चकित पारेको र अहिले पनि महाधिवेशनमा पराजित हुँदा पनि पार्टी विभाजन गरेर अध्यक्ष भएको आरोप लगाए । उनले नेपालको आलोचना गर्दै भने, ’दुई ठाउँबाट चुनाव हार्ने, संविधानसभामा आउने । स्प्रिङ बोर्डमा उछिट्टिएजस्तो गर्ने । जम्प गरेर चुनावमा हारेको संविधानसभा सदस्य । संविसधानसभाको संवैधानिक समितिको सभापति अर्को स्प्रिङ बोर्डमा जम्प गरेको छ । अर्को स्प्रिङ बोर्डबाट हाइजम्प । जम्प, हाइजम्प, पोलजम्प । चुनाव हारेको मान्छे माथि पुगिराख्या, दुनियाँ छक्क। त्यस्तो लोकतन्त्र खोज्नुहुन्छ उहाँ ।’ आफूलाई धम्क्याएर प्रधानमन्त्री नपाइने भन्दै त्यसका लागि पनि निर्वाचनमा जानुपर्ने ओलीको भनाइ थियो । लोकतान्त्रिक अभ्यासमा गएर नै पद पाइने उनले बताए । प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनतर्फ उन्मुख भएको छ । ओली पक्षले दाहाललाई कारबाही गरेको छ भने दाहाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई मनोनित गरेको छ । त्यस्तै, संसद् विघटन गरेर जनतामा जाने घोषणा ओलीले गरेका छन् भने त्यसको विरुद्धमा दाहाल र नेपाल पक्ष सडक संघर्षमा लागेका छन् । नेकपा विभाजन अब कानुनी रूपमा मात्रै बाँकी रहेको उनीहरूका गतिविधिले देखाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts