फेकोफनद्वारा वन जोगाउन स्टिलको थाचे वितरण
-प्रयास लिम्बू
ताप्लेजुङ, पुस ६ । ताप्लेजुङमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघले मिक्वाखोला गाउँपालिका वडा नं. ५ पापुङका बासिन्दालाई स्टिलको थाचे (खम्बा) वितरण गरेको छ । वन जोगाउने उद्देश्य राखेर महासंघले पापुङका बासिन्दालाई स्टिलको थाचे वितरण गरेको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाका अनुसार पापुङका तीन सय परिवारवाई स्टिलको थाचे (खम्बा) वितरण गरिएको छ । तिनजुरे मिल्के जलजले क्षेत्र संरक्षण आयोजनाको करिव साढे १० लाख रुपियाँ आर्थिक सहयोगबाट तीन सय थान थाचे खरिद गरी पापुङवासीलाई वितरण गरिएको महासंघ अध्यक्ष ओझाले बताउनुभयो ।
ओझाका अनुसार स्थानीय किलिङ सामुदायिक वन उपभोक्ता समूह, तोक्पेगोला सामुदायिक वन उपभोक्ता समूह लगायत पापुङमा रहेका आधा दर्जन बढी वन समूहमा आवद्ध शेर्पा समुदायका सदस्य र समूहमा नभएका समेतलाई प्रति परिवार एक थानका दरले थाचे वितरण गरिएको हो । त्यहाँका स्थानीयले थाचेका लागि वार्षिक पाँच सयदेखि सातसय वटासम्म सोझो (सुरिल्लो) रुख बिरुवा काट्ने गरेको पाइएपछि उनीहरुलाई स्टिलको थाचे प्रदान गर्ने कार्यक्रम बनाएर विवरण गरिएको वन महासङ्घले जनाएको छ ।
यता स्टिलको थाचे वितरणले हरेक वर्ष कटान हुँदै आएको रुख तथा बिरुवा जोगिने वन संरक्षण टेवा पुग्ने विश्वास सामुदायिक वन उपभोक्ता महासङ्घले राखेको छ । त्यस्तै जङ्गलमा सोझो रुख खोजी गर्न र काट्न जाँदा लाग्ने स्थानीय बासिन्दाको समय साथै परिश्रम पनि जोगिएको जिल्ला महासंघका अध्यक्ष ओझाले बताउनुभयो । चाँडै काठ मक्काउने हुँदा एकै वर्षमा दुईदेखि तीन पटकसम्म थाचे फेर्नुपर्ने हैरानी खेप्दै आएका स्थानीयलाई स्टिलको थाचेले राहत पनि मिलेको छ ।
पापुङका वडाध्यक्ष डण्डु लामाले अवश्य पनि स्टिलको थाचे लामो समयसम्म टिक्ने हुँदा ध्वजा मात्र फेर्दा पुग्ने बताउनुभयो । वडाध्यक्ष लामाले वन संरक्षण गर्ने योजनासहित लाखौं रुपियाँ खर्च गरेर पापुङका जनतालाई राहत पुग्नेगरी स्टिलको खम्बा (थाचे) वितरण गरेकोमा सामुदायिक वन उपभोक्ता महासङ्घलाई धन्यवाद पनि दिनुभयो । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत चन्द्रलाल राईले पनि वन संरक्षणको क्षेत्रमा महासंघले गर्दै आएको रचनात्मक क्रियाकलापको प्रशङ्सा गर्नुभयो ।
पापुङ चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको हिमाली गाउँ हो । पापुङमा शेर्पा (भोटे) समुदायको अधिक बसोबास रहेको छ भने बौद्ध धर्मावलम्बी उक्त समुदायले धार्मिक संस्कारअनुसार प्रत्येक परिवारले आफ्नो घरमा ध्वजा झुन्ड्याएर थाचे राख्ने गर्दछन् । थाचेका लागि स्टिलको खम्बा पाउँदा स्थानीयले खुसी पनि व्यक्त गरेका छन् ।