सगरमाथाको नयाँ उचाई ८८४८. ८६ मिटर
काठमाडौ,मंसिर २३ । सगरमाथाको उचाई थोरै बढेको छ । नेपाल र चीनका परराष्ट्रमन्त्रीले संयुक्तरुपमा सार्वजनिक गरेको नयाँ उचाई अनुसार सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८. ८६ मिटर रहेको छ । आज भर्चुअल माध्यमबाट दुवै देशका परराष्ट्रमन्त्रीले उचाई सार्वजनिक गर्नु भएको थियो । दुबै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका थिए । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो। यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । सचिवालयले गत असारमै रिपोर्ट तयार गरेको थियो े। सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो । यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ । सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३ २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुग्नु भएको थियो । उहाँहरू चुचुरोमा १ घण्टा १६ मिनेट बस्नु भएको थियो । २०७५ चैत २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट सगरमाथा मापनमा जाने टोलीलाई विदा गर्नु भएको थियो । ४ जनाको टोली मध्ये गौतम र कार्की चुचुरामै पुगेका थिए भने सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरसम्म पुग्नु भएको थियो । सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोसेसिङ गरेका थिए । नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पुर्याएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो । यस अघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिदै आएको छ । यो मापन सन् १९५७ मा जिएल गुलाटी कम्पनीले गरेको थियो ।