|

सुकेटारमा ४२ सिटे क्षमताका जहाज बस्न गरी धावनमार्ग बनाउन प्रारम्भिक अध्ययन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २१ । ताप्लेजुङको सुकेटार बिमानस्थलमा कम्तिमा ४२ सिटे क्षमताका जहाज बस्न मिल्ने गरी स्तरोन्नती गर्ने गृहकार्यका लागि प्रारम्भिक सम्भाव्यता थालिएको छ । त्यसकै प्रयास स्वरुप मन्त्री भट्टराइले शुक्रवार निर्माणाधिन सुकेटार बिमानस्थलको निरीक्षण तथा थप स्तरोन्नतीका लागि प्राविधिक जानकारी लिनु भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजनकुमार पोखरेल र गौरवका आयोजना प्रमुख प्रदीप अधिकारीका साथ मन्त्री भट्टराइले शुक्रवार सुकेटार बिमानस्थलको थप स्तरोन्नतीका लागि गर्न सकिने प्रयासका बारेमा स्थलगत अवलोकन गर्नु भएको हो । मन्त्री भट्टराइले थप स्तरोन्नतीका प्रयास गर्दा हुन सक्ने प्रभाव र त्यसको व्यवस्थापनका बारेमा पूर्व सांसद,प्रदेशसभाका सांसद,जिल्ला समन्वय समिति प्रमुख र नगरप्रमुख सहितका सरोकारवालासंग राय समेत लिनु भएको छ । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक पोखरेलले कम्तिमा ४२ सिट क्षमताका जहाजको सहज उडान र अवतरण हुन मिल्ने गरी सुकेटार बिमानस्थलको थप स्तरोन्नतीको गृहकार्य भइरहेको जानकारी दिनुभयो ।‘मन्त्री ज्यूले कम्तिमा ४२ सिट क्षमताका जहाज सञ्चालन हुने तहको बनाउने कार्यका लागि प्रकृया अघि बढाउन भन्नु भएको छ’पोखरेलले भन्नु भयो । अहिले ताप्लेजुङको सुकेटार बिमानस्थलको धावनमार्ग ७ सय मिटर लम्बाइको छ । ७ सय मिटरलाइ थप १ सय ५० मिटर लम्बाइ थप गरी ८ सय ५० मिटर लम्बाइ बनाउने कार्य धमाधम भइरहेको छ । नागरिक उड्ययन कार्यालय सुकेटारका प्रमुख सूर्यबहादुर खत्रीका अनुसार १ सय ५० मिटर लम्बाइ थप गर्ने,डाँडा कटान,व्याबिङ र बिमानस्थल क्षेत्रमा बिभिन्न संरचनाको निर्माण तथा मर्मतको कार्य आगामी चैत भित्र पूरा हुने छ । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक पोखरेलले धानवमार्गको लम्बाइ ३ सय ५० मिटर थप गर्न सकिएमा ४२ सिटे क्षमताका जहाज र दुइतर्फबाटै उडान तथा अवतरण गर्न सकिने जानकारी दिनुभयो । उहाँका अनुसार भने जस्तो हुनका लागि सुकेटार बिमानस्थलको लम्बाइ १ हजार २ सय मिटर हुनुपर्ने हुन्छ । ।‘हामी त्यो प्रयासमा जुटेका छौं’शुक्रवारको भ्रमणले त्यसकार्यमा लाग्न आधार तयार गरेको बताउँदै पोखरेलले भन्नुभयो । अहिले सुकेटार बिमानस्थलमा एकतर्फबाट मात्र जहाजको उडान तथा अवतरण हुदै आएको छ भने ट्विन अटर जहाजले मात्र उडान भर्दै आइरहेको छ । महानिर्देशक पोखरेलले देशभरका ५५ वटा बिमानस्थलको निर्माण तथा स्तरोन्नतीका कार्यहरु भइरहेको भन्दै ति कार्यहरु चाँडै पूरा हुने बिश्वास लिए ।‘हामी निर्माण,मर्मत तथा स्तरोन्नतीका कार्यको नियमित प्रगति हेरिरहेका छौं’उहाँले भन्नुभयो,बिश्वास छ थालिएका कार्यहरु चाँडै पूरा हुनेछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts