उकालीपानीमा होमस्टे सम्भाव्यता अध्ययन
ताप्लेजुङ, कात्तिक २० । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ५ उकालीपानीमा होमस्टे (घरबास) सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको छ । सदरमुकाम फुङ्लिङ बजार नजिक उकालीपानीको गुरुङ बस्तीमा होमस्टेका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको हो । उकालीपानीका स्थानीय गुरुङ समुदायले यसअघि देखि नै होमस्टे सञ्चालनका लागि चासो राख्दै आएका थिए । जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नसक्ने साथै स्थानीयको आम्दानीको स्रोतसमेत बन्नेभन्दै उकालीपानीका स्थानीयले होमस्टेका लागि चासो राखेका पाइएको छ । स्थानीयको चासोसँगै होमस्टेका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको बताइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारागाउँ विकास समिति बबरमहल काठमाडौंबाट आएको टोलीले सम्भाव्यता अध्ययन गर्न सुरु गरेको हो । बिहीबार समितिका कार्यक्रम संयोजक शम्भु कार्की, पर्यटन विज्ञ पुष्पराज भुर्तेल लगायत सङ्लग्न रहेको टोलीले प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिसहित उकालीपानीका समुदायसँग अन्तक्र्रियासमेत गरेको छ । सरोकारवालासँगको अन्तक्र्रियापछि टोलीले होमस्टे सञ्चालनका लागि स्थानीयको घरको संरचना, वातावरण लगायतको अवस्था अनुकुल हुने÷नहुनेबारे प्रत्येक घर–घरको अवलोकन गरेको छ । घरको अवलोकन तथा अध्ययनपछि होमस्टेबारे स्थानीयलाई प्रशिक्षण दिने तयारीसमेत समितिको रहेको स्थानीय देवराज गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार उकालीपानीमा होमस्टे सञ्चालन गर्नलाई उपयुक्त हुने वा नहुनेबारे समितिले निस्कर्ष निकाल्ने भएको छ । समितिको अध्ययनबाट होमस्टे सञ्चालनका लागि उपयुक्त देखिएमा सोहीअनुसार स्थानीयले तयारीलाई अगाडि बढाउने पनि उहाँको भनाइ छ । उकालीपानीको गुरुङ बस्तीमा करिव १ सयवटा घर रहेका छन् ।