आईपीएल ः हैदराबादको भेट बेंग्लोरसँग

शारजहाँ,कात्तिक १९ । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ । हैदराबादले मंगलबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित हरायो । हैदराबादलाई प्लेअफमा पुग्न यो खेल जित्नैपर्ने थियो । अन्यथा कोलकाता नाइट राइडर्सले हैदराबादलाई उछिन्थ्यो । हैदराबादले टस जितेपछि ब्याटिङमा आएको मुम्बईले ८ विकेट गुमाई १ सय ४९ रन बनायो । कप्तान डेबिड वार्नर र ऋद्धिमन शाहको अर्धशतकपछि हैदराबादले १७.१ ओभरमै लक्ष्य पार गरेको थियो । वार्नरले ५८ बलमा ८५ र शाहले ४५ बलमा ५८ रनको अविजित इनिङ्स खेले । वार्नरले १० चौका र १ छक्का तथा शाहले ७ चौका र १ छक्का प्रहार गरे । वार्नर आईपीएलको ६ सिजनमा ५ सयभन्दा बढी रन बनाउने पहिलो खेलाडी बने । मुम्बईले प्रमुख बलर जसप्रित बुमराह र ट्रेन्ट बोल्टसहित हार्दिक पाण्ड्येलाई आराम दिएको फाइदा वार्नर र शाहले उठाएका थिए । हैदराबादले अन्तिम तीन खेल जितेर प्लेअफमा स्थान पक्का गरेको हो । संयोगले यो तीन खेल प्लेअफमा पुगिसकेका मुम्बई, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध थियो । हैदराबाद लगातार पाँचौं पटक प्लेअफमा पुगेको हो । डबल राउन्ड रोबिनको खेलपछि मुम्बई १८, दिल्ली १६ तथा बेंग्लोर र हैदराबाद समान १४ अंक जोड्दै क्रमशः पहिलोदेखि चौथो स्थानमा रहे । कोलकाताको १४ अंक नै रहे पनि टोली बेंग्लोर र हैदराबादभन्दा रनरेटमा पछाडि रह्यो । मुम्बईले दिल्लीसँग फाइनलमा प्रवेश पाउन क्वालिफायर १ मा खेल्नेछ । बेंग्लोर र हैदराबाद इलिमिनेटरमा खेल्नेछन् । यसको विजेताले क्वालिफायर २ मा फाइनल प्रवेश पाउन मुम्बई र दिल्लीबीच पराजित हुने टोलीसँग खेल्नुपर्नेछ ।