ताप्लेजुङ तेस्रो पटक बन्यो संक्रमण शुन्य जिल्ला,प्रजिअ सहित ८ जनानै संक्रमणमुक्त
ताप्लेजुङ,कात्तिक १७ । ताप्लेजुङ फेरी कोरोना शुन्य संक्रमित जिल्ला बनेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइ सहित संक्रमित ८ जनाकै कोरोना रिर्पोट नेगेटिभ आएको हो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको योजना अनुसार ताप्लेजुङ जिल्ला अस्पतालले संक्रमित ८ सहित शंकास्पद २६ जनाको स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाएको थियो । स्वाब पठाइएका आफुसहित २६ जनाकै पीसीआर रिर्पोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी चापागाँइले बताउनुभयो । प्रजिअ चापागाँइ सहित जिल्ला प्रशासन कार्यालयमा काम गर्ने एक कर्मचारी,३ जना नेपाल प्रहरी र ३ जना सशस्त्र प्रहरी गरी ८ जनामा कोरोना संक्रमण देखिएको करिव दुइसाताको अवधि पछि स्वाब परीक्षणका लागि पठाइएको थियो । दशैं पर्वका कारण केहिदिन ढिला गरी स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको रिर्पोट नेगेटिभ आएपछि ताप्लेजुङ फेरी शुन्य संक्रमित जिल्ला बनेको हो । यसअघि दुइपटक ताप्लेजुङ कोरोना शुन्य संक्रमित जिल्ला बनिसकेको छ । तर,स्वास्थ्य मन्त्रालय र प्रदेश जनस्वास्थ्य कार्यालयले भने ताप्लेजुङ स्थायी ठेगाना भएका अन्यत्र जिल्लामा गइ बसोबास गर्ने वा अन्य जिल्लामा स्वाब परीक्षण गराइ पोजेटिभ रिर्पोट आएकाको तथ्याङ्क पनि ताप्लेजुङ जिल्लामा राख्दा संक्रमण शुन्य भएपनि सक्रिय संक्रमित जिल्लाकै सूचीमा दर्ज हुने गलत मान्यता स्थापित हुदैं आएको छ ।