|

जाडो मौसममा कोरोना भाइरसको प्रभाव कस्तो रहला ?

काठमाडौ,कात्तिक १५ । हिउँद यामको चिसो मौसमले कोरोना महामारीलाई कस्तो प्रभाव पार्ला भन्नेमा आम चासो र चिन्ता बढेको छ । बिभिन्न अन्तर्राष्ट्रिय अध्ययन तथा विज्ञले भाइरसको बृद्धि र बिस्तारमा यो मौसम अनुकुल हुनसक्ने र मौसमी रुघाखोकी एवं कोरोनाका सह–संक्रमणले जोखिम बढ्ने देखाएका छन् । त्यसो त, यो मौसमी उपक्रमले भाइरस संक्रमणको जोखिम बढ्छ नै भनेर ठोकुवा गर्न नमिल्ने तर्क पनि अन्यको छ । अमेरिकाका सरुवारोग विशेषज्ञ तथा ‘नेशनल इन्सिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिसेज’का निर्देशक डा. एन्थोनी फाउसीले ‘हिउँदयाम श्वासप्रश्वास संम्बन्धी रोगको बिस्तारका लागि उपयुक्त मौसम’ भएको बताउँदै आउनु भएको छ । ‘अमेरिकामा हिउँदयामको शुरुवातसँगै कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । यो अत्यन्त ठूलो समस्या र चूनौती हो,’ उहाँले अमेरिकी टेलिभिजन सीएनबीसीसँगको एक अन्तर्वार्तामा हालै भन्नु भएको छ । अन्य अध्ययनका नतिजाले पनि डा. फाउसीको चिन्तालाई थप प्रमाण दिएका छन् । गत साता विश्व प्रशिद्ध जर्नल नेचरको अनलाइन संस्करणमा ‘किन हिउँदमा कोभिड–१९को महामारी डरलाग्दो हुदैछ’ भन्ने शिर्षकमा प्रकाशित लेखमा कोरोना भाइरस र इन्फ्लुयन्जा जस्ता श्वासप्रश्वास संम्बन्धी रोगका कारक भाइरसका संक्रमण हिउँदमा बढ्ने र गर्मीयाममा घट्ने भन्नेबारे उल्लेख गरिएको छ । अमेरिकाका सरुवारोग विशेषज्ञ तथा ‘नेशनल इन्सिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिसेज’का निर्देशक डा. एन्थोनी फाउसीले ‘हिउँदयाम श्वासप्रश्वास संम्बन्धी रोगको बिस्तारका लागि उपयुक्त मौसम’ भएको बताउँदै आउनु भएको छ । कोभिड–१९ मौसमी भाइरस होला या नहोला भन्नेमा अनुसन्धानकर्ताले तत्काल यकिन गर्न नसकिने बताए पनि बिभिन्न प्रमाणहरुले मौसमका कारण हिउँदमा महामारीको जोखिम बढ्ने चेतावनी दिएका छन् । नेचरको सो आलेखमा भाइरसका बारेमा हालसम्म उपलव्ध जानकारी र हिउँदयाममा मानिसहरुले देखाउने आनीबानीका कारण सो जोखिम बढ्नसक्ने देखिएको हो । जाडोयाममा यथेष्ट भेन्टिलेसन नभएका घरभित्रै मानिसको जमघट र अन्र्तक्रिया हुँदा संक्रमणको जोखिम बढने तर्क सो आलेखमा गरिएको छ । अधिकांस राष्ट्रले लकडाउन शुरु नगर्दै महामारीका शुरुका चार महिनामा गरिएको तथा गत अक्टुबर १३ मा प्रकाशित एक अनुसन्धानले सूर्यको अल्ट्राभाइलेट प्रकाश कम भएका स्थानमा संक्रमण तीव्र रुपमा बढेको र गर्मीमा अन्य कुनै उपाय नअपनाउँदा पनि यो तीव्रतामा ह्रास आउने देखाएको थियो । ‘जाडोमा जोखिम बढ्छ तर यसलाई रोक्न व्यक्तिगत आनीबानीमा परिवर्तन आवश्यक छ,’ नेचरको सो आलेखका सहलेखक समेत रहेका कनेक्टिकट विश्वविद्यालयका इकोलोजिष्ट कोरी मेरोले भन्नु भएको छ । यसैगरी गत जूनमा जर्नल अफ मेडिकल भाइरोलीमा प्रकाशित एक लेखमा महामारीको बेला कोभिड–१९ र इन्फ्लुयन्जाको सह(संक्रमण सामान्य घटना जस्तो बनेको उल्लेख गरिएको छ । कोभिड–१९ र इन्फ्लुयन्जा–बी रोगको सह–संक्रमणका कारण रोग निको हुने सम्भावना कम पाइएको थियो । महामारी शुरु भएको वुहानको टोङजी अस्पतालमा गरिएको एक अर्को अध्ययनले कोभिड–१९ का अधिकांस बिरामी इन्फ्लुयन्जाबाट पनि संक्रमित रहेको पाइएको थियो । त्रिभुवन विश्वविद्यालयका शुक्ष्मजिवविज्ञान बिषयका प्राध्यापक प्रकाश घिमिरे जाडो याम भाइरसको भाइरस वृद्धि र विस्तारका लागि अनुकुल भएको तर्क गर्नुहुन्छ । ईन्फ्लुयन्जाको मृत्युदर सरदरमा ५ प्रतिशत र कोरोना भाइरसको मृत्युदर १ देखि ३ प्रतिशत रहेको बर्तमान अवस्थामा यी दुवै रोगको दोहोरो मार पर्दा जोखिम झन् बढ्न जाने उहाँ बताउनुहुन्छ । नेपालको सन्दर्भमा पनि हिउँद याम र कोरोना भाइरसको अन्त्रसम्वन्ध बारेमा यकिन अनुमान नभएपनि सरुवारोग विशेषज्ञहरु सो संभावना रहेको उहाँको भनाइ छ । ‘कोभिड–१९ शुरुमा गत डिसेम्वरमा छिमेकी मुलुक चीनमा देखिएकाले स्वभाविक रुपमा यो भाइरसका लागि हिउँद याम अनुकुल छ र यो मौसममा भाइरसको संक्रमण बढ्न सक्छ, ’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोगका चिकित्सक तथा सरुवारोग विज्ञ डा. शेर बहादुर पुन भन्नुहुन्छ । तर अन्यत्र देशमा भएका अध्ययनका नतिजा हुवहु नेपालमा लागु नहुने तर्क उनको छ । वातानुकुलित घर तथा कार्यालय पश्चिमा देशमा आम विषय हो भने नेपालमा अझै पनि यो लक्जरी मानिन्छ । अधिकांस नेपालीहरु जाडो याममा बाहिरै बिताउँछन भने अधिकांस पश्चिमाहरु घरभित्रै खुम्चिएका हुन्छन् ।

Similar Posts