फौजीका कथा ः दशैंले छोपेको बेला पनि सीमावर्ती क्षेत्रमा गस्ती गर्दै सशस्त्र प्रहरी टोली
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ६ । ‘फौजीलाइ कुन हो दशैं कुन हो चाड तिहार’हरेक सालका दशैं तिहारका बेला घन्कने यि गीतका शब्द र शैली जति सदाबहार छन्,कर्मक्षेत्रमा खटिने सुरक्षाकर्मीका सयौं पीडा तिनै गीतका भावले मेट्ने गर्छन् । यि गीतका भावहरुले पींडा मात्र भूलाउदैनन्,फौजीहरुको पौरखी र कर्तव्यलाइ समेत प्रतिबिम्वत गरिरहेका हुन्छन् । सशस्त्र प्रहरीको नेतृत्वमा बनेको यहिँ गीतको म्युकिज भिडियोले दर्शाए झैं दशैंका बेला नागरिकहरु घरघरमा परिवारसंग रमाइरहँदा उत्तरी सीमावर्ती क्षेत्र ताप्लेजुङको ओलाङ्चुङगोलामा रहेको बोर्डर आउट पोष्ट(बिओपी)मा कार्यरत सशस्त्र प्रहरीको टोली भने सीमावर्ती क्षेत्रमा गस्तीमा व्यस्त रहेको छ । ओलाङ्चुङगोलामा रहेको सशस्त्र प्रहरीको बिओपी टोली बुधवार सीमावर्ती क्षेत्र टिपताला सम्म पुगेर फर्किएको हो ।‘अहिले पनि नियमित गस्तीका कार्यहरु भइरहेका छन्’सशस्त्र प्रहरी वल १ नं गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठले भन्नुभयो । उहाँले सीमा क्षेत्रबाट हुने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि अब यो टोली नियमित रुपमा कार्यस्थलमा खटिइ रहने जानकारी दिए । फक्ताङ्लुङ गाउँपालिकाको मौवाटारमा रहने बिओपी तत्कालका लागि ओलाङ्चुङगोलमा रहने गरी असोज २१ गते स्थापना भएको थियो । स्थापना भएदेखि नै बिओपी टोलीले आफ्नै दैनिकीका लागि लय लिएको गुल्मपति श्रेष्ठले जानकारी दिए । स्थायी रुपमा बिओपी भने ओलाङ्चुङगोलाबाट करिव १३ किलोमिटर टाढा मौवाटारमा रहन्छ । अहिले त्यहाँ भौतिक संरचना बन्ने क्रममा रहेकोले सो संरचना नबिञ्जेल सम्मका लागि भने मौवाटारमा रहने बिओपी टोली ओलाङ्चुङगोलामै रहेको छ । गोलाबाट नेपाल–तिब्बत सीमावर्ती क्षेत्र टिपताला पुग्न करिव २५ किमी पैदल यात्रा पार गर्नुपर्छ । तत्कालका लागि २० जनाको संख्यामा रहेको बिओपी टोलीको नेतृत्व सशस्त्र प्रहरीका निरीक्षक(इन्सपेक्टर) युवराज खड्काले गरिरहनु भएको छ । भवनसहितका सबै संरचना बनेपछि मौवाटारमा रहने बिओपी टोलीमा भने करिव ५० जना सम्म सशस्त्र प्रहरी कर्मचारी रहने गुल्मपति श्रेष्ठले जानकारी दिनुभयो ।