दिल्लीविरुद्ध पन्जाब ५ विकेटले विजयी, शिखरको शतक काम लागेन

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक ५ । चकिंग्स इलाभेन पन्जाबले आईपीएल क्रिकेटमा लगातार तेस्रो जित हासिल गरेको छ । पन्जाबले मंगलबार दुबईमा भएको खेलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको छ । पन्जाबले दिल्लीले प्रस्तुत गरेको १६५ रनको विजय लक्ष्य एक ओभर बाँकी रहँदा हासिल गर्यो । पन्जाबको टप स्कोरर निकोलस पुरनले ५३ रन योगदान गरे । दिल्लीका शिखर धवनको शतक खेर गयो । दिल्लीका लागि धवनले नटआउट १०६ रन बनाएका थिए । त्यसैले उनलाई म्यान अफ द म्याच चुनियो । आईपीएलको जारी १३ औं संस्करणमा पन्जाबको यो चौथो जित हो । दिल्लीले भने तेस्रो पटक हार व्यहोर्नुपर्यो । जितसँगै पन्जाब अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ । पन्जाबको शुरुआत राम्रो थिएन । कप्तान केएल राहुल १५ रनमै आउट भएका थिए । उनलाई तेस्रो ओभरमा दिल्लीका अक्षर पटेलले आउट गरे । तेस्रो नम्बरमा ब्याटिङमा आएका क्रिस गेलले सुरुवात राम्रो गरे तर २९ रनमा आउट भए । उनलाई छैटौं ओभरमा रविचन्द्र आश्विनले बोल्ड गरे । यसै ओभरमा मयंक अग्रवाल रनआउट भए । उनले ५ रनमात्र बनाउन सके । तेस्रो विकेट गुम्दासम्म पन्जाबको स्कोर ५६ रन थियो । पन्जाबमाथि दिल्ली हाबी हुन लागेको संकेत देखिएको बेला निकोलस पुरनले पन्जाबको स्कोर उकासे । उनले २८ बलमा ५३ रन जोडे । ग्लेन म्याक्सवेलले ३२ रन योगदान गरे । दीपक होडा १५ र जिम्मी निशम १० रनमा नटआउट रहे । बलिङतर्फ कागिसो रबाडाले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ सुरु गरेको दिल्लीले शिखर धवनको शतक मद्दतमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । धवनले ६१ बल सामना गर्दा १०६ रन बनाए । उनले १२ चौका र ३ छक्का प्रहार गरे । आईपीएलको जारी सिजनमा धवनको यो लगातार दोस्रो शतक हो । धवनले चेन्नाई सुपरकिंग्सविरुद्ध पनि नटआउट १०१ रन बनाएर दिल्लीलाई जिताएका थिए । उनी जारी आईपीएलमा सबैभन्दा धेरै रन बनाउने क्रिकेटरको दोस्रो नम्बरमा आइपुगेका छन् । उनले हालसम्म ४६५ रन बनाइसकेका छन् । पन्जाबका कप्तान केएल राहुल ५४० रनसहित पहिलो नम्बरमा छन् । पन्जाबविरुद्धको खेलमा दिल्लीका ओपनर पृथ्वी शा ७ रनमा आउट हुँदा श्रेयस अय्यर र ऋषभ पन्तले १४–१४ रन बनाए । पन्जाबका लागि मोहम्मद शामी सबैभन्दा सफल बलर बने । उनले २८ रन खर्चिएर दुई विकेट लिए । ग्लेन म्याक्सवेल, जेम्श निशम र मुरुगन आश्विनले एक–एक विकेट लिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts