अस्पतालका निर्देशकहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन– बिरामीहरु गेटबाट फर्कन नपरोस्

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज २० । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न बिभिन्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिनु भएको छ । सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उकास्न कुनै कसर नराख्ने बताउँदै मन्त्री ढकालले बिरामीहरु अस्पतालको गेटबाट फर्कन नपर्ने गरी काम गर्न पनि निर्देशन दिनुभयो । देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग मन्त्री ढकालले भर्चुअल माध्यमबाट छलफल गर्दै सो निर्देशन दिनु भएको छ । चाडबाडको बेला हुने भीडभाडले कोरोना संक्रमणको जोखिम अझै बढ्ने सम्भावना औल्याउँदै मन्त्री ढकालले उच्च मनोबलका साथ काम गर्न भन्नु भएको थियो । कोभिड १९ विरूद्ध फ्रन्टलाइनमा बसेर काम गरिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल बढाउने अभिप्रायले आयोजित छलफलमा मन्त्री ढकालले अस्पतालले कोभिड १९ विरूद्धको काममा भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाबारे जानकारी लिनु भएको थियो । छलफलमा २५ अस्पतालका निर्देशकले सहभागिता जनाएका थिए । उनीहरूले कोभिड १९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने काम लगायतका विषय मन्त्रीसँग राखेका थिए । स्वास्थ्यका विज्ञ, प्रदेशका सामाजिक विकासमन्त्री र अन्य सरोकारवालाहरूसँग नियमित छलफल गर्दै आएका मन्त्री ढकालको सचिवालयले जनाएको छ । (अनलाइन खबरबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts