पानी पर्न रोकिएपछि ताप्लेजुङमा सडक मर्मत गर्न थालियो
उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १४ । ताप्लेजुङमा वर्षा रोकिएसँगै ग्रामीण सडकहरु मर्मत गर्न सुरु गरिएको छ । लामो समयसम्म निरन्तर वर्षा हुँदा पहिरोले अवरुद्ध बनेका ग्रामीण सडकहरु अहिले धमाधम मर्मत गर्न थालिएको हो । निरन्तरको वर्षाले ठाउँ–ठाउँमा पहिरो थुप्रिएर र कुनै ठाउँमा पहिरोले सडक भत्किएर अवरुद्ध बनेका ग्रामीण सडकहरु मर्मत गर्न थालिएको हो । जिल्लाका अधिकांस स्थानीय तहले आ–आफ्नो क्षेत्रमा वर्षाले क्षतिग्रस्त बनाएका सडकहरु मर्मत गर्न थालेका हुन् ।
नयाँ ट्रयाक साथै सडकहरु कच्ची भएकाले अधिकांस ग्रामीण सडक अवरुद्ध बनेका र ती सडक खुलाउनलाई अहिले मर्मत गर्ने कार्य सुरु गरिएको स्थानीय तहहरुले जनाएका छन् । जिल्लाको मेरिङ्देन गाउँपालिकाले लामो समय सम्मको वर्षाका कारण पहिरोले ठाउँ–ठाउँमा अवरुद्ध बनाएको नाल्बु–लङ्वापाटी–सान्थाक्रा सडकको मर्मत सुरु गरेको छ ।
निरन्तरको वर्षा रोकिएसँगै गाउँपालिका केन्द्र सान्थाक्रा सुलुम्फी जोड्ने उक्त सडकको मर्मत कार्य सुरु गरिएको गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिनुभयो । प्रवक्ता बराइलीका अनुसार गाउँपालिकासँग भएको जेसीभी, अन्य एक्साभेटर मेसिनको प्रयोग गरेर सडक मर्मत गरिँदै छ ।
यस्तै सिदिङ्वा गाउँपालिकाले सडक अवरुद्ध हटाउनलाई पालिकाको जेसीभी प्रयोग गर्दै आएको जनाएको छ । हाल सदरमुकाम फुङ्लिङदेखि सबै स्थानीय तहका पापुङ, मामाङ्खे र ओलाङ्चुङगोलाबाहेक प्रत्येक वडासम्म सडक सञ्जाल जोडिएको छ । वर्षाका कारण अधिकांस ग्रामीण सडकहरु अवरुद्ध बनेका र अहिले वर्षा रोकिएपछि सडक खुलाउनलाई धमाधम मर्मतको कार्य हुँदै आएको बताइएको छ ।