भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी)नयाँदिल्ली,असोज १४ । भारतका उपराष्ट्रपति वेंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उपराष्ट्रपति नायडूको आधिकारिक ट्विटर ह्याण्डलबाट मंगलबार साँझ नायडूलाई संक्रमण भएको जानकारी दिइएको थियो । ‘बिहान नियमित परीक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यद्यपि लक्षण नदेखिएको र स्वास्थ्य सामान्य रहेको छ,’ उपराष्ट्रपति नायडूको ट्वीटमा भनिएको छ । हाल उनी घरमै क्वरेन्टाइनमा रहेका छन् । उनकी श्रीमती उषा नायडूको समेत कोरोना परीक्षण गरिएकोमा उनको रिपोर्ट भने नेगेटिभ आएको थियो । उनी पनि सेल्फ आइसोलेसनमा बसेकी छिन् । भारतमा कोरोना भाइरसको संक्रमित हुने ७१ वर्षीय नायडू बहालवाला सबैभन्दा उच्च अधिकारी हुन् । यसअघि केन्द्रीय मन्त्रीहरु गृहमन्त्री अमित शाह, नितिन गडकरी, धमेन्द्र प्रधान, गजेन्द्र सिंह शोखावतमा पनि संक्रमण पुष्टि भइसकेको छ । र, सबै जना उपचारपछि निको भइसकेका छन् । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । विश्वका संक्रमण अधिक हुने मुलुकहरुमध्ये भारत अमेरिकापछि दोस्रो स्थानमा छ । मंगलबार साँझसम्म भारतमा ६१ लाखभन्दा बढीमा संक्रमित पुष्टि भइसकेको छ भने ९६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमणकै कारण पूर्वराष्ट्रपतिदेखि केन्द्रीय मन्त्रीसम्मले ज्यान गुमाइसकेका छन् । पूर्वराष्ट्रपति प्रवण मुखर्जीलाई पनि संक्रमण भएकोमा उपचारकै क्रममा दुई साताअघि निधन भएको थियो । मुखर्जीको टाउकोमा रगत जमेका कारण शल्यक्रिया पनि गरिएको थियो । त्यसैगरी अघिल्लो साता मात्र भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश चनाबसप्पा अंगडीको कोरोना भाइरसको संक्रमणले ज्यान लिएको थियो । त्यसैगरी हालसम्म भारतमा प्रदेशका दुईजना मन्त्री, तीन संघीय सांसद र ६ जना विधायकको कोरोनाबाट ज्यान नै गुमाइसकेका छन् । १६ अगस्टमा पूर्वक्रिकेटर तथा उत्तरप्रदेश राज्यका मन्त्री चेतन चौहानको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । त्यस्तै उत्तरप्रदेशकै मन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । उनी योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारमा प्राविधिक शिक्षा मन्त्री थिइन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts