दशकौंदेखि चमेरोमा थियो कोरोना भाइरस ः अध्ययन

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी),साउन १६ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस दशकौंदेखि चमेरोका शरीरमा रहेको हुन सक्ने बेलायती एक अध्ययनले संकेत गरेको छ । बेलायतमा गरिएको एक अध्ययनमा ४० देखि ७० वर्ष अघिदेखि चमेरोमा कोरोना भाइरस(कोभिड–१९) देखिएको हुन सक्ने बताइएको छ । त्यही भाइरस अहिले मानिससम्म पुगेको अध्ययनकर्ताहरुले बताएका छन् । वैज्ञानिकहरुको यो शोधसँगै कोरोना भाइरसका बारेमा चर्चा गरिएको ‘कन्स्पिरेसी थियरी’ पनि फितलो देखिएको छ । यो भाइरस ल्याबमा तयार पारिएको हो भन्ने एकखाले तर्कलाई यो अध्ययनले निराधार देखाएको छ । ग्लासगो विश्वविद्यालयका प्राध्यापक डेभिड रोर्बटसनले नेचर माइक्रोबायोलोजी जर्नलमा यससम्बन्धी शोधपत्र प्रकाशित गर्नु भएको छ । उहाँका अनुसार अहिलेको विश्वव्यापी महामारी सार्स–कोभ २ भाइरस आनुवंशिक रुपले चमेरोमा पाइने भाइरससँग निकै नजिक रहेको छ । समयक्रमसँगै चमेरोमा पाइने भाइरस सार्स–कोभ २ छुट्टिएको पनि प्राध्यापक रोबर्टसनले बताउनु भएको छ । ‘यसको अर्थ यो हो कि, मानिसमा देखिएको कोरोना भाइरस केही समय पहिलेदेखि नै अस्तित्वमा थियो । तर हामीलाई अहिलेसम्म थाहा छैन कि कहिले र कसरी यो भाइरस मान्छेमा प्रवेश गरÞ्यो,’ बीबीसीसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘यदि हामीले यसलाई चमेरोमा पाइने आम भाइरसको रुप मान्ने हो भने, हामीले यसबारेमा अझै अध्ययन र निगरानी गर्नुपर्नेछ ।’ भविष्यमा महामारी फैलनबाट रोक्नका लागि मानिसमा पाइएको भाइरस मात्रै होइन, चमेरोमा पाइने भाइरसका बारेमा पनि अध्ययन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । यदि दशकौंदेखि यो भाइरस अस्तित्वमा रहेको भए अन्य जीवमा पनि उक्त भाइरस भेटिने सम्भावना रहेको उहाँको दाबी छ । यस अनुसन्धानका लागि शोधकर्ताहरुले कोभिड–१९ बाट बिरामी बनाउने सार्स–कोभ २ भाइरसको जेनेटिक कोड र यसैसँग मिल्दोजुुल्दो चमेरोमा पाइने भाइरससँग तुलना गरिएको थियो । शोधका क्रममा दुवैका पूर्वज एकै पाइएको र विकासक्रमसँगै फरक हुँदै गएको प्राध्यापक रोबर्टसन बताउनुहुन्छ । रिडिङ विश्वविद्यालयका प्राध्यापक मार्क पेजल पनि उक्त अध्ययनले कोरोना भाइरसको अस्तित्व ४० देखि ७० वर्ष अघिदेखि नै रहेको हुन सक्ने बताउँनुहुन्छ । ‘जनावरबाट मानिसमा हुने संक्रमणको दायरा कति ठूलो छ भन्ने कुरा यो अनुसन्धानले जनाउँछ । मानिसलाई रोगी बनाउने थुप्रै भाइरस जनावरको शरीमा रहेको हुन पनि सक्छ, जुन हामीलाई थाहै छैन,’ प्राध्यापक पेजलले भन्नुभयो । अनुसन्धानकर्ताहरुले अनुसार एउटा जनवारबाट अर्को जनावरमा भाइरस फैलिएको हुनसक्ने र जंगली जनावरको अवैध कारोबार गर्ने क्रममा मानिसमा सरेको हुनसक्ने बताएका छन् । यसअघि सुरुमा अनुसन्धानकर्ताहरुले चमेरो हुँदै कुनै समुद्री जीवमार्फत मानिसमा कोरोना भाइरसको सरेको हुनसक्ने बताएका थिए । तरपछि केही अनुसन्धानकर्ताहरुले भने चमेरोबाट कोभिड–१९ फैलिएको आरोप निराधार र गलत भएको बताएका थिए । दक्षिण एसियाका ६४ जना कायरेप्टेरोलोजिस्ट(चमेरोको अध्ययन गर्ने) हरुले कोभिड–१९ चमेरोबाट फैलिएको कुरा सत्य नभएको दाबी गरेका थिए । केही अध्ययनकर्ता भने चमेरोमा पनि उक्त भाइरस अन्य कुनै जीवबाट सरेको हुनसक्ने सम्भावना रहेको बताएका छन् । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर ६ लाख ६७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts