|

तमोर जलाशययुक्त परियोजनाको प्रभाव ः प्रभावित क्षेत्रका सबै जग्गाको कारोवार रोक्का भएपछि उचाइ एकिन गरिदिन प्रशासनको पत्र

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३१ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले तमोर जलाशययुक्त परियोजना क्षेत्रमा निजी स्वामित्वका जग्गा नापी कार्यालयबाट उचाइ एकिन गरी कारोवार गर्न पाउने व्यवस्थाका लागि गृह मन्त्रालयमा अनुरोध पत्र पठाएको छ । परियोजना क्षेत्रमा निजी स्वामित्वका जग्गा रोक्काको बिद्यमान प्रावधानबाट जनतामा प्रत्यक्ष असर परेको भन्दै प्रशासन कार्यालयले तमोर जलाशययुक्त परियोजनाका कारण कारोवार गर्न रोकिएका क्षेत्रहरुमा नापी कार्यालयबाट उचाइ एकिन गरी कारोवारको व्यवस्थाका लागि गृहमा अनुरोध गरेको हो । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले जग्गा रोक्का प्रकृयाले अंशबण्डा,नामसारी,ऋण लेनदेन सहितका दैनिक व्यवहारका काम रोकिने भएकोले यो कार्यको सहजीकरणका लागि गृह मन्त्रालयमा अनुरोध पत्र पठाएको जानकारी दिनुभयो । तमोर जलाशययुक्त परियोजनाका लागि गृह मन्त्रालय र लगानी बोर्डले पाथीभरा याङ्वरक र आठराई त्रिबेणी गाउँपालिकाका वडा नं १ र २ तथा फुङ्लिङ नगरपालिका वडा नं ३ र ८ का समुद्री सतहबाट ६ सय मिटर उचाई सम्मका निजी जग्गाको हकभोग रोक्का राख्न प्रशासन कार्यालयमा पत्र पठाएका थिए । गृह मन्त्रालयले २०७६ पुस ६ गते तथा लगानी बोर्डले पहिलो पटक २०७६ साल मंसिर २४ र दोस्रो पटक माघ १४ गते पठाएको पत्रका आधारमा ३ पालिकाका ६ वटा वडाका निजी जग्गाको हकभोग तथा कारोवार रोकिएको छ । यो कार्यले समुद्री सतहबाट ६ सय मिटर उचाई भन्दा माथिका जग्गाको हकभोग समेत रोकिने अवस्था आएको स्मरण गर्दै प्रशासन कार्यालयले नापी कार्यालयबाट उचाइ एकिन गरी कारोवार गर्न पाउने व्यवस्थाका लागि गृहमा अनुरोध पत्र पठाएको हो । पाथीभरा याङ्वरक र आठराई त्रिबेणी गाउँपालिकाका वडा नं १ र २ तथा फुङ्लिङ नगरपालिका वडा नं ३ र ८ का समुद्री सतहबाट ६ सय मिटर उचाई भन्दा माथिका कित्तालाई नापी कार्यालयबाट उचाइ एकिन गरी कारोवार खुल्ला गरिदिन प्रशासनले गृहमार्फत लगानी बोर्डमा अनुरोध गरेको हो । प्रशासनले गृह मन्त्रालयमा पठाएको अनुरोध पत्रको बोधार्थ लगानी बोर्डलाई समेत दिएको छ । लगानी बोर्डको पत्रले समुद्री सतहबाट ६ सय मिटर माथि करिव ३ हजार मिटर उचाइमा रहेका जग्गाका कित्ताहरु पनि सोलोडोलो रुपमा रोक्का भएको अवस्था समेतको जानकारी प्रशासनले गृह मन्त्रालय र लगानी बोर्डलाई गराएको छ । लगानी बोर्डको पत्र अनुसार प्रकृया अघि बढाउँदा पाथीभरा याङ्वरक र आठराई त्रिबेणी गाउँपालिकाका वडा नं १ र २ तथा फुङ्लिङ नगरपालिका वडा नं ३ र ८ का जनताका दैनिक जीवनयापनका लागि सञ्चालन हुने प्रशासनिक काम सोलोडोलो रोकिएकोले उचाइ एकिन गरी मापदण्ड भन्दा बाहिरका जग्गाको कारोवार फुकुवाका लागि अनुरोध गरिएको प्रशासनले जनाएको छ । पुराना श्रेस्ता तथा दस्तावेजमा भने ताप्लेजुङको उचाइ समुद्री सतहबाट ७ सय ७७ मिटर रहेको छ । यो श्रेष्तालाई आधार मान्ने हो भने चाँहि लगानी बोर्ड र गृहले जग्गा रोक्काका लागि गरेको परिपत्र नहेरी कारोवार प्रकृया खुल्ला गर्दा पनि हुन्छ । किनकी,गृह र लगानी बोर्डले समुद्री सतहबाट ६ सय मिटर उचाई सम्मका निजी जग्गाको हकभोग रोक्का राख्न भनेका छन् । तर प्रमुख जिल्ला अधिकारी चापागाँईले भने जीपीएस मेसिनबाट मापन गर्दा काबेली नदी ५ सय २८ मिटर र तमोर नदी ६ सय २६ मिटर उचाइमा पाइएको बताउनुभयो । त्यहिँ भएर नापी कार्यालयले जीपीएस मेसिनबाट उचाइ मापन गरी ६ सय मिटर उचाई भन्दा माथिका हकमा कारोवार गर्न पाउने व्यवस्था गर्न सकेमा तत्कालको समस्या समाधान हुने ठम्याइ प्रशासनको छ । लगानी बोर्ड र गृह मन्त्रालयको यहिँ पत्रका कायम रहे फुङ्लिङ नगरपालिका वडा नं ३ को स्वीकृत जग्गामा समेत ल्याण्ड फिल्ड साइट निर्माण कार्य अघि बढाउन समेत अवरोध गर्ने छ । ल्याण्ड फिल्ड साइट निर्माणका लागि चालू आर्थिक बर्षमा नेपाल सरकारले १ करोड तथा नगरपालिका आफैंले ७० लाख बजेट बिनियोजन गरेका छन् ।

Similar Posts