प्रदेशस्तरीय वक्तृत्वकलामा ताप्लेजुङकी अनिता द्वितीय
-प्रयास लिम्बू
ताप्लेजुङ, भदौ २९ । राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा मानवअधिकार मञ्च नेपाल इलामले आयोजना गरेको प्रदेशस्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङकी अनिता पन्दाक द्वितीय हुन सफल हुनुभएको छ । ‘कोरोना भाइरस (कोभिड–१९) ले बालबालिकामा पारेको असर र सरोकारवालाको भूमिका’ विषयक प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै पन्दाकले द्वितीय स्थान हासिल गर्नुभएको हो ।
राष्ट्रिय बाल दिवसको अवसरमा सोमबार भर्चुअल प्रविधि (अनलाइन) मार्फत वक्तृत्वकला प्रतियोगिता आयोजना भएको थियो । प्रदेश १ का १४ जिल्लाबाट १४ जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रत्येक जिल्लाबाट एक/एक जनाका दरले १४ जना बालबालिकाको सहभागिता रहेको अनलाइन प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा मोरङका नवराज भट्टराई प्रथम र पाँचथरका योगेश तिम्सिना तृतीय हुनुभएको छ । प्रतियोगितामा प्रथम हुने नवराजले १५ हजार, द्वितीय अनिताले १० हजार र तृतीय हुने योगेशले पाँच हजार रुपियाँ नगद पुरस्कार पाउनुहुने छ ।
यता सोमबार सम्पन्न भएको प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी हुनका लागि पहिलो चरणमा सबै जिल्लामा जिल्ला स्तरीय छनोट प्रतियोगिता आयोजना गरिएको थियो । ताप्लेजुङमा प्रतियोगिताको सह–आयोजकको रुपमा वातावरण संरक्षण तथा विकास मञ्च (ईसीडीएफ) ले गएको भदौ २२ गते जिल्लास्तरीय छनोट प्रतियोगिता सम्पन्न गरेको थियो । उक्त छनोट प्रतियोगितामा सहभागी नौ जनामध्ये प्रथम हुँदै अनिता पन्दाकले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउनुभएको ईसीडीएफअन्तर्गत सुआहारा कार्यक्रमका फिल्ड संयोजक मनप्रसाद लिम्बूले जानकारी दिनुभयो ।
वक्तृत्वकला प्रतियोगिताको उद्घाटन भने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भर्चुअल प्रविधिमार्फत गर्नुभएको थियो । कोभिड–१९ जस्ता विपद्का समयमा बालबालिकाले समस्या झेल्नुपरेता पनि समस्याले सिर्जना गरेका अवसरलाई बुझाउँदै घरमै बस्न बाध्य भएका विद्यार्थीको प्रतिभा खोजी गर्ने उद्देश्यले किन्डरिसनरेक जर्मनीको सहयोगमा प्रतियोगिता आयोजना गरेको मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ । विद्यार्थी आफैंमा भएको प्रतिभाको खोजी गर्ने सीपको विकास गरेर समाज, घर परिवारसँग बाल संरक्षणका लागि समाजलाई ऐक्बद्धता दिलाउनमा सहयोग पुग्ने अपेक्षा पनि आयोजकले राखेको छ ।