कोरोना भाइरस महामारीः अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण फेरि सुरु
(एजेन्सी),भदौ २९ । बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण पुनः सुरु भएको छ । केही दिनअघि खोप लगाएका लन्डनका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरिएको थियो । खोप परीक्षणमा सहभागी एक व्यक्तिमा पहिचान नखुलेको एक प्रकारको स्वास्थ्य समस्या देखिए लगत्तै सम्पूर्ण परीक्षण कार्य स्थगन गर्नु परेको कम्पनीले गत मंगलबार जनाएको थियो । अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको अस्ट्राजेनिका कम्पनी अहिले खोप विकासमा अग्रस्थानमा छ । हाल यस खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ। यस कम्पनीले कोरोनाको औषधि समेत निर्माणको प्रयास जारी राखेको छ । अक्सफोर्डले जारी गरेको पछिल्लो विज्ञप्तिमा बेलायतका सबै परीक्षण केन्द्रहरुबाट खोप दिन थालिएको उल्लेख छ। बेलायती नियामक निकायहरुले पनि खोप परीक्षण गर्न अनुमति दिइसकेको अक्सफोर्डले जनाएको छ । अस्ट्राजेनिकाका एक प्रवक्ताले खोप परीक्षणमा सहभागी व्यक्तिमा देखिएको स्वास्थ्य समस्याका बारेमा अध्ययन गर्न एक स्वतन्त्र समितिले काम गरिरहेको जानकारी दिएका थिए । ठूलो संख्यामा परीक्षण कार्य भइरहेकाले एकाध व्यक्तिमा समस्या देखिनु स्वाभाविक रहेको बताउँदै कम्पनीले तर त्यस्तो समस्याको निराकरणका उपाय पहिल्याउन जरुरी हुने जनाएको छ । कम्पनीले ती व्यक्तिको पहिचान खुलाएको छैन ।