अफगान उपराष्ट्रपतिलाई लक्षित गरी बम विस्फोट, १० को मृत्यु

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी)काबुल,भदौ २५ । अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सलेहलाई लक्षित गरी भएको बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ । विस्फोटमा १५ जना घाइते छन् । राजधानी काबुलमा बुधबार गराइएको विस्फोटमा सलेहको मुख र हात आंशिक रूपमा जलेको छ । बम विस्फोटलगत्तै घटनास्थलमा धूवाँको ठूलो मुस्लो उडेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियो दृश्यमा देखिन्छ । तालिवान र अफगान अधिकारीबीच पहिलो औपचारिक वार्ताको तयारी भइरहेका बेला विस्फोट गराइएको हो । तालिवान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले ट्वीटमार्फत घटनामा आफ्नो समूहको संलग्नता नभएको बताएका छन् । यसअघि अफगानिस्तानको गुप्तचर विभागका पूर्वप्रमुखसमेत रहेका सलेह तालिवानको कट्टर विरोधीका रूपमा चिनिन्छन् । यसअघि पनि उनलाई कैयौंपटक मार्ने प्रयास गरिए पनि उनी बाँच्न सफल भएका थिए । गत वर्ष सलेहलक्षित विस्फोटमा २० जनाको ज्यान गएको थियो । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक अराइनले अज्ञात समूहले उपराष्ट्रपतिलाई निसाना बनाएर विस्फोट गराएको पुष्टि गरेका छन् । उनले विस्फोटमा मारिएका १० जना सर्वसाधारण रहेको जनाए । तारिकका अनुसार घाइतेमध्ये एक सलेहका अंगरक्षक हुन् । एक प्रत्यक्षदर्शीले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै सरकारको आलोचना गरेका छन् । ‘विस्फोटमा मैले एक आफन्त गुमाएँ । अर्का एक जना घाइते छन्,’ उनले भने, ‘यो कस्तो सरकार हो ? न घटनास्थलमा एम्बुलेन्स आउँछ, न त सुरक्षाकर्मी नै ।’ अफगान राष्ट्रपति असरफ घानीले घटनाको कडा शब्दमा निन्दा गरेका छन् । ‘आतंकवादी र उनीहरूका विदेश समर्थकले अफगान जनताको शान्तिप्रतिको विश्वासलाई नजरअन्दाज गर्न सक्दैनन्,’ घानीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts