बेलारुसको विपक्षी दलकी नेतृ नियन्त्रणमा

अरुलाई पनि शेयर गरौ !

मिन्स्क,भदौ २ । बेलारुसको विपक्षी दलकी नेतृ मारिया कोलेस्निकोभालाई एक अपरिचित समूहले नियन्त्रणमा लिएको छ  । मारियालाई मास्क लगाएका मानिसको एक समूहले राजधानी मिन्स्कबाट एउटा मिनी बसमा राखेर अन्यत्र लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मारिया गत अगस्टमा भएको राष्ट्रपतीय चुनावमा पराजित सेभ्लाना तिखानोभ्स्कायाको अभियानमा निकै सक्रिय थिइन् । अलेक्जेन्डर लुकासेन्को विजयी भएको चुनावमा धाँधली भएको आरोपपछि बेलारुसमा विरोध प्रदर्शन चर्केको छ । चार साता लामो प्रदर्शनका क्रममा कम्तीमा ४ जनाले ज्यान गुमाएका छन् । ६ सय ३३ जना प्रदर्शनकारी पक्राउ परेका बेलारुसको आन्तरिक मन्त्रालयले जनाएको छ । युरोपेली संघका अधिकांश नेताहरूले चुनावी परिणामलाई मान्यता नदिने बताएका छन् । उनीहरूले बेलारुसमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै आएका छन् । तर रुस, चीन, काजखस्तान, उज्बेकिस्तान, माल्दोभा र अजरबैजानले लुकासेन्कोलाई समर्थन जनाएको बीबीसीले उल्लेख गरेको छ । यसअघि जर्मनीले चुनावी नतिजाप्रति ‘गम्भीर आशंका’ रहेको जनाएको थियो भने पोल्यान्डले विवादास्पद राष्ट्रपतीय चुनावबारे छलफल गर्न युरोपेली युनियनको आपत्कालीन बैठक डाक्न आग्रह गरेको थियो । लुकासेन्को ८०.२३ प्रतिशत मतसहित राष्ट्रपति पदमा विजयी भएको बताइएको थियो । ६५ वर्षीय लुकासेन्को सन् १९९४ देखि सत्तामा छन् । छैटौंपटक बेलारुसको राष्ट्रपति पदमा विजयी भएका लुकासेन्कोले तिखानोभ्स्काया विदेशीको इसारामा चुनावी मैदानमा आएकी आरोप लगाएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts