ढोरपाटन बाढीपहिरो ः मृतक संख्या चार पुग्यो, १३ जना बेपत्ता

अरुलाई पनि शेयर गरौ !

बागलुङ,भदौ १८ । बागलुङको ढोरपाटन नगरपालिका–९ र आसपास क्षेत्रमा बुधबार राति आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । अझै १३ जना बेपत्ता छन् । राति १२ बजेतिर देउराली र सुपुरदुङ क्षेत्रमा खसेको पहिरोमा यहाँका १५ वटाभन्दा बढी घर पुरिएका छन् । बाढीले कटान गरेपछि सडकसमेत क्षतविक्षत भएको छ । बिहान साढे ७ बजे इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोली घटनास्थल पुगेपछि स्थानीयसहित उद्धार सुरु गरिएको हो । अहिलेसम्म चार जनाको शव भेटिएको र सनाखत भइनसकेको भण्डारीले बताउनुभयो । उहाँका अनुसार बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशिला पुन ,उहाँका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक, ३२ वर्षीया करमती घर्तीमगर, ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर र उनका ६ वर्षीय छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नवीन भण्डारी रहनु भएको छ । बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेनासमेत घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । घटनास्थल सदरमुकामबाट १ सय ३० किमी पश्चिममा पर्छ । पहिरो खसेको थाहा पाएर पनि रातभर फोन र विद्युत् अवरुद्ध भएकाले उद्धार गर्न कठिनाइ भएको स्थानीय फूलमाया पुनले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts