चितवनमा ३ र वीरगञ्जमा १ गरी थप ४ कोरोना संक्रमितको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
(चितवन,वीरगञ्ज)भदौ १६। चितवनमा ३ र वीरगञ्जमा १ गरी थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार मृत्यु भएका थप तीन जनामा मंगलवार बिहान मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु छन् । उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनीहरूका आफन्तले अस्पतालमा दिएको जानकारी अनुसार दुई दिन अघिसम्म उनीहरूमा स्वास्थ्य सम्बन्धी खासै समस्या थिएन । एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले एक्कासी लक्षण देखिएर राम्रोसँग उपचार गर्न पनि नपाउँदै बिरामीको मृत्युु भएको बताउनुभयो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । यसअघि, सोमबार बिहानै भरतपुर अस्पतालमा एक जना ७८ वर्षका कोरोना संक्रमित वृद्धको मृत्यु भएको थियो । योसँगै चितवनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् । बाँकी मकवानपुरका तीन, बारा, गोरखा, नवलपरासीका १–१ जना छन् । यता,वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति १२ः४५ मा उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts