कोरोना महामारी २ वर्षभन्दा कम समयमै नियन्त्रण हुनसक्छ ः डब्लूएचओ
जेनेभा,भदौ ६ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले २ वर्षभन्दा कम समयमै विश्वले कोरोना भाइरसको महामारीबाट छुटकारा पाउने सम्भावना रहेको बताएको छ । शुक्रबार जेनेभामा भएको पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको महामारी ‘स्पेनिस फ्लू’ को महामारीभन्दा छिटो नियन्त्रणमा आउने बताउनु भएको छ । महानिर्देशक गेहब्रेयससले अहिलेको आधुनिक प्रविधिका कारण भाइरसको नियन्त्रण छिटो हुनेमा आफू आशावादी रहेको बताउनुभयो । ‘विश्वव्यापीकरणका कारण भाइरस तीव्र रुपमा फैलिने सम्भावना अवश्य छ तर त्यसैगरी हामीसँग भएका प्रविधि र ज्ञानले यसलाई रोक्न सकिनेछ,’ उहाँले भन्नुभयो, ‘तर यसका लागि राष्ट्रिय एकता र विश्वव्यापी ऐक्यबद्धताको आवश्यकता पर्छ ।’ सन् १९१८ को स्पेनिस फ्लूका कारण करिब ५ करोड मानिसको मृत्यु भएको थियो । त्यसको करिब आधा त भारतमै मृत्यु भएको थियो । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म विश्वभर ७ लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै यस भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २६ लाख नाघेको छ ।