पीएसजी पहिलो पल्ट च्याम्पियन्स लिगको फाइनलमा

अरुलाई पनि शेयर गरौ !

लिस्बन,भदौ ३ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ । यसका लागि उसले अर्जेन्टिनी खेलाडी एन्जेल डि मारियाको उत्कृष्ट प्रदर्शनमा आरबी लाइपगिजलाई सजिलै ३–० ले हरायो । पहिलो हाफमा पीएसजीले २–० को अग्रता लिएको थियो । त्यसमा मारक्विन्हो र डि मारियाले गोल गरे । दोस्रो हाफमा जुवान बर्नाटले तेस्रो गोल गरे र पीएसजीले इस्टाडियो डा लुइजमा आरामदायी जित निकाल्यो । सन् १९७० मा स्थापित पीएएजीले यस पल्ट आफ्नो ५०औं स्थापना दिवस मनाइरहेको छ र यसै अवसरमा फाइनल पुग्न पनि सफल रहेको छ । अब उपाधि भिडन्तका लागि उसले बुधबार बायर्न म्युनिक र लियोनबीच दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ । निकै खर्चालु पीएसजी लाइपजिगलाई बलियो प्रतिद्वन्द्वी सावित भयो । लाइपजिग पनि ११ वर्ष अगाडि मात्र स्थापित क्लब हो र उसले सेमिफाइनलसम्म सनसनीपूर्ण यात्रा तय गरेको थियो । यसक्रममा उसले टोटनहम र एटलेटिको म्याड्रिडलाई पन्छाएको थियो । खेलपछि प्रतिक्रिया दिँदै डि मारियाले भने, ‘खेलको सुरुआतदेखि हामी लाइपजिगमाथि हाबी रह्यौं । अब हामी सबै फाइनलको प्रतीक्षामा छौं । हामीले यहाँसम्म पुग्न निकै मिहिनेत गरेका छौं र यसका लागि हकदार पनि छौं ।’ चोटबाट पूर्णतस् मुक्त भएको विश्वकप विजेता फरवार्ड केयलिन एमबापे उपलब्ध भएपछि पीएसजी बलियो भएको थियो । यस्तोमा प्रशिक्षक थोमस टुचेलले अगाडि उनीसँगै ब्राजिलका नेयमार र डि मारियालाई खेलाउने अवसर पाएको थियो । उनले खेलपछि भने, ‘मलाई आफ्ना खेलाडीमा पूरा विश्वास छ, तर पनि फाइनल पुग्नेमा म ढुक्क हुन सकेको थिइनँ । पीएसजीको मिहिनेत, समर्पण र स्तरीयताले नै फाइनल यात्रा सम्भव भएको थियो ।’

अरुलाई पनि शेयर गरौ !

Similar Posts