लिदी पहिरो ः थप पाँच शव भेटियो, मृतक १६ पुगे

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन ३१ । लिदी पहिरोमा शनिबार थप पाँच शव फेला परेको छ । योसमेत लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । पहिरोमा अझै २३ हराइरहेका छन् । पहिरोमा बेपत्ताको खोजीमा जुटिरहेका सुरक्षाकर्मी टोलीले चार बालबालिकासहित थप पाँच शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयाह । उनीहरुको सनाखतसमेत भइसेको उहाँले जानकारी दिनुभयो । स्थानीय माइलापराङ दोङ (१६), च्यामा दोङ (११), बिमला दोङ (७) सात महिने कबीर दोङ र मेकमाइ दोङ (३७) को शब पहिरोमा पुरिएको अवस्थामा भेटिएको हो । जुगल गाउँपालिका–२, गोल्चे लिदीमा शुक्रबार बिहान पहिरो खस्दा ३७ घर पुरेको थियो । घरसँगै ३९ स्थानीय बेपत्ता भएका थिए । शुक्रबार ११ शव फेला परेका थिए । सनाखतपछि ती शवको शनिबार अन्तिम संस्कारसमेत सकिएको छ । थप फेला परेका शबको सनाखत भएकाले सम्बन्धित परिवारलाई जिम्मा लगाउने प्रक्रिया सुरु भएको डिएसपी काफ्लेले जानकारी दिनुभयो । शनिबारै गम्भिर घाइते दावाग्याल्वो दोङलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएको छ । यसअघिको उद्धारको क्रममा उनी छुटेका थिए । योसमेत गम्भिर घाइतेको संख्या ६ पुगेको छ । चारको चौतारा र एकको राजधानीको सिभिल अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोली बेपत्ताको खोजीमा जुटेको छ । पहिरोमा धेरै बालबालिका परेको देखिन्छ । फेला परेका शवमध्ये ११ बालबालिकाका छन् । तीन महिला र दुई पुरुषको शव भेटिएको हो । स्रोत ः नागरिक

अरुलाई पनि शेयर गरौ !

Similar Posts