अब ताप्लेजुङमै सुरु हुने भो डिप्लोमा इन हाईड्रोपावर इञ्जिनियरिङको पढाई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २६ । एकसमय संस्कृत पाठशालाको रुपमा परिचित ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ३ स्थित बासुसं मावि मेदिबुङलाई अहिले प्राविधिक शिक्षाप्रतिको मोह जागेको छ । बासु माविले यसै शैक्षिक सत्रबाट डिप्लोमा इन हाईड्रोपावर इञ्जिनियरिङको पढाई सुरु गर्ने तयारी थालेको छ ।‘अब सिटिइभिटिइले प्रकाशित गर्ने सूचना अनुसार हामीले पढाईका लागि आबेदनको तयारी गर्ने छौं’प्राविधिक शिक्षा पढाई बारे जानकारी दिन बिद्यालयले सोमवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमका बिद्यालयका प्रधानाध्यापक रामचन्द्र दाहालले भन्नुभयो । हाईड्रोपावर इञ्जिनियरिङ बिषयमा अध्यापन गराउने देशभरमा अति न्यून माध्यमिक बिद्यालय रहेकोमा यस शैक्षिक सत्रबाट आफ्नो बिद्यालय पनि जोडिन पुगेको उहाँले बताउनुभयो । दाहालले पढाईका लागि आवश्यक पर्ने फर्निचर,कम्युटरसहितका प्राविधिक उपकरण र अन्य आवश्यकीय पूर्वाधारको निर्माण तथा व्यवस्थापनको कार्य पूरा भएकोले सिटिइभिटिईले भर्ना आबेदन खुल्ला गर्नासाथ बिद्यालयले धमाधम प्रबेशका लागि दरखास्त लिने जानकारी दिनुभयो । ३ बर्षे यो पढाईका लागि बासु माविमा अधिकतम् ४८ जना बिद्यार्थीको अध्ययन कोटा तोकिएको छ । कोटा अनुसारका बिद्यार्थी मध्ये ४ जनाले पूर्ण रुपमा निःशुल्क अध्ययन गर्नेगरी छात्रबृत्ति पाउने भएका छन् । बिद्यालयकोतर्फबाट १ जना गरिव तथा जेहेन्दार बिद्यार्थीका लागि छात्रबृत्ति प्रदान हुने पत्रकार भेटघाट कार्यक्रममा बिद्यालयले जानकारी दिएको छ । ‘प्रत्येक बिद्यार्थीलाई ड्रोईङका लागि चाहिने ४८ थान टेबल,अध्ययनका लागि चाहिने डेस्क,बेञ्च र कुर्सी तथा टेबल,कम्युटर कक्ष र ल्याव कक्ष तयारी हालतमा छ’बिद्यालयका शिक्षक रामहरि निरौलाले भन्नुभयो । बिक्रम् सम्वत २००८ सालमा संस्कृत पाठशालाको रुपमा उदय भएको बिद्यालयमा २०५८ साल सम्म संस्कृति बिषय पढाई हुन्थ्यो । २०५९ सालबाट यसलाई निरन्तरता दिन छाडेर साधारण संस्कृति बिद्यालयको रुपमा लगिएको बिद्यालमा यति चाँडै प्राविधिक त्यो पनि डिप्लोमा इन हाईड्रोपावर इञ्जिनियरिङ पढाई सुरु हुन लागेकोका सो बिद्यालयका सेवानिवृत पूर्व प्रधानाध्यापक डिल्लीरमण बरालले प्रसन्ता व्यक्त गर्नुभयो । ३ बर्षे डिप्लोमा इन हाईड्रोपावर इञ्जिनियरिङका लागि एक बर्षमा २ वटा सेमेष्टरको पढाई हुने छ । बिद्यालयका शिक्षक शान्तिराम नेपालका अनुसार पहिलो बर्षको पहिलो सेमेष्टर ७०० सय र दोस्रो ८२५ पूर्णाङ्कको हुने छ । यस्तै दोस्रो बर्षको पहिलो सेमेष्टर ९०० र दोस्रो ८०० तथा तेस्रो बर्षको पहिलो सेमेष्टर ९०० र दोस्रो ८५० पूर्णाङ्कको हुने छ ।‘कम्तिमा बिज्ञान बिषय अध्ययन गर्न सक्ने बिद्यार्थीका लागि यो डिप्लोमा इन हाईड्रोपावर इञ्जिनियरिङको पढाई लाभदायक हुने छ’शिक्षक युवराज बस्नेतले भन्नुभयो । यो तहको पढाईका लागि एसईई पास गरेका बिद्यार्थीको समग्रको प्राप्ताङ्क कम्तिमा २ ‘जीपिए’ र साथमा अंग्रेजीमा कम्तिमा ‘डीप्लस’ र बिज्ञान तथा गणितमा कम्तिमा ‘सी’ ग्रेड अंक आएका बिद्यार्थीले मात्र आबेदन दिन पाउने छन् । कम्तिमा दोस्रो श्रेणीमा एसएलसी पास गरेका बिद्यार्थी तथा १८ महिने सव ओभरसियर तहको अध्यनन पूरा गरेका बिद्यार्थीले पनि यो तहको पढाईका लागि आबेदन दिन सक्ने व्यवस्था गरिएको छ । प्राविधिक शिक्षा लिए बेरोजगार भईदैंन भन्ने मान्यतालाई आत्मसाथ गर्दै पूर्वी पहाडी जिल्लामै पहिलो पटक यो स्तरको प्राविधिक शिक्षा भित्र्याउन सकिएको फुङ्लिङ नगरपालिका वडा नं ३ का वडाध्यक्ष युवराज बरालले बताउनुभयो । उत्पादित जनशक्ति जलस्रोतका हिसावले धनी मानिएको ताप्लेजुङ सहितका पहाडी जिल्लाहरुमा अनिवार्य खपत हुने उहाँको बिश्वास छ । ताप्लेजुङमा अहिले करिव ३० वटा कम्पनीले बिद्युत उत्पादनका लागि अनुमति लिएका छन् । ति मध्ये २ वटा आयोजनाको काम तीव्र रुपमा भईरहेको छ । बिद्युत उत्पादनका लागि अनुमति लिएका अधिकाँस कम्पनीहरुले पनि केहिबर्ष भित्रै काम थाल्ने भएकोले अध्ययन सकिदैं रोजगारीको अवसर सृजना हुने सम्भावना समेत वडाध्यक्ष बरालले औंल्याउनुभयो ।

फोटो ः डिप्लोमा इन हाईड्रोपावर इञ्जिनियरिङको पढाई सुरु गर्ने जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्ययन बारे बताउँदै प्रधानाध्यापक रामचन्द्र दाहाल । तस्बिर ः खगेन्द्र । उज्यालो पोष्ट

अरुलाई पनि शेयर गरौ !

Similar Posts