फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्ति १ खर्ब डलर

अरुलाई पनि शेयर गरौ !

एजेन्सी । विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफम फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब डलर पुगेको छ । फेसबुक कम्पनीले टिकटकको प्रतिस्पर्धी एपको रुपमा इन्स्टाग्राम रील्स सार्वजनिक गरेसँगै फेसबुकको शेयर मूल्यमा बढोत्तरी भएसँगै जुकरबर्गको निजी सम्पत्तिले १ खर्ब डलरको कोशेढुंगा पार गरेको हो ।
शर्ट भिडियो मेकिङ एप, इन्स्टाग्राम रील्स लञ्च गरेसँगै फेसबुक कम्पनीको शेयर मूल्यमा ६ प्रतिशतको वृद्धि भयो । जसका कारण कम्पनीमा १३ प्रतिशत शेयर स्वामित्व रहेका जुकरबर्गको सम्पत्तिमा समेत उल्लेख्य वृद्धि भएको हो । यो सँगै जुकरबर्ग एक खर्ब डलर सम्पत्ति हुने विश्वका तेश्रो व्यक्ति बन्न सफल भएका छन् । अहिलेसम्म एक खर्ब डलर सम्पत्ति हुने व्यक्तिहरुमा अमेजन सिइओ जेफ बेजोस र माइक्रोसफ्ट संस्थापक बिल गेट्स मात्र थिए ।
डलर खर्बपति जुकरबर्गले आफ्नो जीवनकालमा फेसबुक कम्पनीमा आफ्नो नाउँमा रहेको शेयर मध्ये ९९ प्रतिशत कल्याणकारी कार्यमा दान गर्ने घोषणा गरिसकेका छन् । यसका लागि पत्नी प्रिसिला चानसँगै जुकरबर्गले एक च्यारिटी संस्था समेत स्थापना गरेका छन् । चिनिया एप टिकटकको भविष्य अमेरिकामा अनिश्चित बनेसँगै फेसबुकले टिकटककै विकल्पको रुपमा इन्स्टाग्राम रील्स लञ्च गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ४५ दिनपछि टिकटकसँग कुनैपनि अमेरिकी कम्पनीले कुनैपनि कारोबार गर्न नपाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । टिकटकले भने ट्रम्पको उक्त आदेश विरुद्ध अदालत जाने बताएको छ ।
यो एपमा पनि प्रयोगकर्ताहरुले टिकटकमै जस्तै १५ सेकेण्डको छोटो भिडियोहरु बनाएर, सम्पादन गरेर तथा अडियो तथा इफेक्टहरु समेत थपेर अपलोड गर्न सक्दछन् । यस एपमा एकैपटकमा विभिन्न भिडियो क्लिपहरु रेकर्ड गरेर अपलोड गर्न वा पहिले नै आफुसँग रहेको भिडियो समेत अपलोड गर्न सकिन्छ ।
फेसबुकले पाइलट प्रोजेक्टको रुपमा गतवर्ष ब्राजिलमा इन्स्टाग्राम लञ्च गरेको थियो । पछि त्यसलाई जर्मनी तथा फ्रान्समा र हालै भारतमा समेत सुरु गरिएको थियो, परीक्षणकै रुपमा । भारत सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको एक हप्तापछि नै फेसबुकले भारतमा यो एप परीक्षणको रुपमा लञ्च गरिएको घोषणा गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts